Kantipur

Kantipur

मिति | २०७१ वैशाख ५, शुक्रबार     Login | Register
पाठक पत्र»

पाठक मञ्च

पुस ४ -
ध्रुवेको विद्रोहको अर्थ



मृत्युदण्डको सजाय सुनेका दिनदेखि धु्रवे अलप छ । मृत्युदेखि भाग्दै ऊ कुनै घना जंगलको एकान्तमा लुकेको वा कुनै पहाडको फेदमा सास दबाएर बसेको होला । ऊमाथि करिब १४ जनाको हत्या गरेको आरोप छ । सुरक्षाकर्मीले यो संख्या बढ्न सक्ने आशंकासमेत गरेका छन् । आँखाका बद्ला आँखा, दाँतका बदला दाँत भनेझैं अरूको ज्यान लिएकोले उसको पनि ज्यानै लिने फैसला भएको हो ।

ध्रुवे बहुलाएको अनुमान गर्दै अधिकारीहरूले उसलाई मार्नुको कुनै विकल्प नरहेको जिकिर गरेका छन् ।  ओखतीमूलो गरेको भए ध्रुवे सद्दे पनि हुनसक्थ्यो कि । कस्ता-कस्ता दीर्घ रोगबाट मुक्ति पाएर पूर्ववत् जीवन बाँचेकाहरूलाई हेर्ने हो भने ध्रुवेमाथि अन्याय भइरहेको देखिन्छ । तर घटनाक्रम यसरी बढ्यो, अब ऊमाथि सहानुभूति देखाउन, उसको पक्ष लिएर आवाज उठाउन चरो-मुसो कोही अगाडि सर्नेवाला छैनन् ।

ध्रुवेको स्वभाव, आचरण र पृष्ठभूमिबारे धेरैले आफ्नो अनुभव र धारणा सार्वजनिक गरेका छन् । कसैले उसलाई आफ्नो जवानी सम्हाल्न नसकेको, स्त्रीलिंगीप्रति लिप्त बनेर उनीहरूको अश्मितामात्र हैन, इहलीला नै समाप्त गरेको दाबी पेस गरेका छन् । तर ध्रुवे यो आरोप मान्न तयार देखिँदैन । एउटा निश्चित उमेरमा यस्ता क्रियाकलाप प्रदर्शन हुनु कुनै अनौठो होइन भन्ने उसको ठम्याइ छ । जहाँसम्म सौराहस्थित त्यो दरबारमा हुर्किएकी राजकुमारी भगाएको भन्ने आरोप छ, उसले त्यसलाई मायाप्रेमपछि घरजम गर्ने प्रयासमात्र भएको जिकिर गरेको छ । जब आफ्नी प्रेमिकालाई आफूबाट खोसेर फिर्ता लगियो, त्यही वियोग, पीडा र आक्रोश थाम्न नसकेपछि उसको मानसिक अवस्था कमजोर भयो रे । ध्रुवेको भनाइ छ- 'त्यसपछि के-के भयो, आफैंलाई थाहा छैन ।' स्त्रीसँगको विषय जब-जब प्रतिष्ठा बनेर आउँछ, तब-तब संसारमा यस्ता दुःखान्त घटना हुनबाट कसैले रोक्न सक्दैन । इतिहास पल्टाएर हेर्न धु्रवेको आग्रह छ ।

जान्ने-सुन्नेहरूको भनाइअनुसार आफ्नो जन्मथलो खर्साङको फेद छाडेर सौराह आउँदा ध्रुवे रमरम बैंस चढेको १६/१७ को जस्तो देखिन्थ्यो रे । त्यो बेला ऊ अरूझैं सामान्य नै थियो । परिवार छोडेर पहिलोपटक परदेश हान्निएको उसलाई नौलो ठाउँ र नयाँ साथीभाइसँग भिज्न निकै मुस्किल भयो । तर जब उसको जवानीको जुरो पलाउँदै गयो, केही वर्षभित्रैमा उसले आफ्नो हर्कत देखाउन सुरु गरिहाल्यो । यस बीचमा मारकाटका शृंखलाबद्ध घटनामा उसको संलग्नता देखियो । आफ्नो टोल वरपरमात्र हैन, सयौं कोस टाढासम्म पनि धु्रवेको दादागिरी चल्न थाल्यो । सुरुमा हतियार बोकेका व्यक्ति उसको निसानामा पर्थे, पछि जो अगाडि पर्छ, उसैमाथि जाइलाग्न थाल्यो । अर्थात भनौं धु्रवेले पूरै होश गुमायो ।

गाउँ छाड्नु अघि धु्रवेले सार्वजनिक रूपमा घोषणा गरेको थियो रे- ऊ डराएर पलायन हुनलागेको हैन रे । उसको हुंकार सुन्नेहरू भन्छन्- ऊ शक्ति सञ्चय गर्न, संगठन निर्माण गर्न केही समय भूमिगत भएको हो । हाम्रो बस्ती अतिक्रमण गर्नुभन्दा पहिले हामीले उसका पुर्खाको बस्ती उजाड पार्‍यौं रे । ऊ पुर्खाको त्यही विशाल जंगला-मुलुक फिर्ता लिन लडाइँको तयारी गर्दैछ रे । कसैले आफ्ना पुर्खाले पाएको किपट फिर्ता मागिरहेका छन्, कसैले चुरे-भावर मागिरहेका छन्, कसैले तराईमाथि हकदाबी जमाइरहेका छन् । कसैलाई सिंगै कणर्ाली चाहिएको छ, कसैलाई थारुहट, कति कोशी पारिलाई आफ्नो बनाउन चाहन्छन्, कति काठमाडौं उपत्यकाभित्र कसैलाई ढिम्किन दिन्नौ भनिरहेका छन् । त्यही देखेर धु्रवे पनि आफ्नो अधिकार खोज्ने सही समय यही हो भनेर महान् सशस्त्र संघर्षको तयारी गर्दैछ रे ।

- पुण्य भण्डारी

वासिङटन डिसी, अमेरिका   





 नेताहरूलाई प्रश्न

विगत केही दिनदेखि मधेसका केही जिल्लामा जिविसको भ्रष्टाचारसम्बन्धी समाचारहरू पत्रपत्रिकामा निकै पढ्न पाइयो । हुन त यो समस्या मधेसमा मात्रै नभएर नेपालभरिकै समस्या हो । यद्यपि मधेसको बारा र धनुषा जिल्ला हुँदै सप्तरीको जिविसको भ्रष्टाचार प्रकरण चर्चामा आयो । सप्तरीको जिविस भ्रष्टाचार विरोध आन्दोलनमा लागेका केही राजनीतिक दल र स्वतन्त्र नागरिकहरूको निरन्तर प्रयासले केही आंशिक सफलता प्राप्त गरेको छ ।

केही साना तथा प्राविधिक कर्मचारीहरूलाई विभागीय कारवाही भएको छ । तर ठूलो रकम भ्रष्टाचार गरेका अधिकृत वा सोभन्दा ठूलो पदका कर्मचारीहरूलाई अहिलेसम्म पनि केही कारवाही भएको छैन । स्थानीयहरूको भनाइअनुसार एकातिर भ्रष्टाचारी विरुद्ध आन्दोलन भइरहको छ भने अर्कोतिर केही दलका नेताहरूले भ्रष्टाचार विरुद्धको कारवाहीबाट बचाइदिन्छु भनेर गाविस सचिवहरूबाट मोटो रकम उठाइरहेको अवस्था छ । मधेसमा मधेसी जनताका लागि राननीति गर्ने दलका नेताहरूले सत्तामा बसेर मधेसी जनताको केही मुद्दा नउठाएका होइनन् । तर नेताजीहरूका लागि मुद्दाभन्दा पनि कुर्सीको मोह र पैसा नै प्राथमिकतामा परेका छन् । होइन भने मधेसमा स्थानीय निकायमा भइरहेको भ्रष्टाचारलाई रोक्न किन केही बोल्नसकेका छैनन् ?

- नन्दकुमार साह

लहान, सिरहा



 जवाफ चाहियो

नेपाली राजनीति एकीकृत माओवादी पार्टीकै कारण बन्धक बनेको छ । एक दिनमा दसथरी कुरा फेर्ने पार्टी अध्यक्ष प्रचण्ड कति निरीह अवस्थामा छन् भन्ने कुराको झल्को नेपाली नागरिकहरूले थाहा पाए होलान् । 'बाबुरामजीले तपाईले पार्टीबाट निर्णय गराउनु भए पनि म छाड्दिन भनेर मसँंग भन्नुभयो, कसरी मनाउने ?' भन्ने अभिव्यक्ति सार्वजनिक गर्ने शक्तिशाली पार्टीका कमाण्डर प्रचण्डको लाचारीप्रति दया लाग्यो । मुलुक गम्भीर अवस्थामा पुगेको छ । दुई दिनअघि मुलुक सहमतितिर लाग्यो भन्ने सकारात्मक सन्देश दिने प्रचण्डको नब्बे डिग्रीको कोणमा फर्केर आएको निरीहताको यो अभिव्यक्तिलाई आम नागरिकले कसरी बुझ्ने ? साँच्चै लाचारीपना वा रणनीतिक योजनाको सार्वजनिकीकरण ? के हो यो ? बुझ्न सकिएन ।

शीतल निवास पसेर पाँंच दिनका लागि पांँचौपटक सहमतिको समय माग गरेर फर्केका राजनीतिक दलहरूलाई प्रचण्डको यो लाचारीपनले 'गोली खान तयार छु, सिंहदरबार छोड्दिन' भन्ने अभिव्यक्तिलाई एकीकृत नेकपा माओवादीले प्रचण्डमार्फत सार्वजनिक गरेको त होइन भन्ने अविश्वास झन् चुलिने अवस्था सिर्जना गर्ने बाहेक अन्य सकारात्मक सन्देश दिँदैन । मुलुकलाई राजनीतिक रूपमा निकास खोज्नका लागि घनिभूत रूपमा सम्वादहरू अघि बढिरहेका बेला 'एक कदम अघि दुई कदम पछि' को रणनीति लागु गर्न खोजेको त होइन ?

- चम्फासिंह भण्डारी

भीमदत्त नगरपालिका-४, कञ्चनपुर



 कर्मयोगीहरू सधैं पुजिन्छन्

एकजना व्यवसायीको कर्मप्रतिको विश्वास र पेसाप्रतिको इमानले डोरी लड्काएरै भए पनि आफ्नो जन्मथलो गोरखा र कर्मथलो चितवनलाई जोड्ने सपना मनःकामना केवल कारको माध्यमबाट पुरा भएको सन्दर्भलाई नेपालको राजनीतिसँंग जोड्ने धृष्टता मैले गरेको होइन । प्रतिकूल स्वास्थ्य अवस्थाको बाबजुद आफूभित्र केही गरौं भन्ने उत्साह र उमंग आज पनि उनीभित्र जागृत छ ।

कर्मप्रति विश्वास गर्ने लक्ष्मणबाबु हाइड्रो पावरको विकास गर्दै नेपाललाई अँध्यारोबाट मुक्ति दिलाउने महान उद्देश्यका खातिर केही योगदान पुर्‍याउन सकिन्छ कि भनेर घोत्लिरहँदा नेपाली राजनीतिका हस्तीहरू सत्ताको छिनाझप्टीमा रुमलिनु कहाँसम्म न्याय होला त नेपाल र नेपालीका लागि ? के वर्तमान नेपाली राजनीतिका हस्तीहरूको कुनै सपना थिएन ? देश र जनताप्रति उनीहरूको कुनै दायित्वबोध थिएन ? नेपाल आमामाथि उनीहरूमा कुनै इमान थिएन ? आजको दिनमा देशको केवल एक सफल व्यापारी कहलिएका लक्ष्मणबाबु हजारौं सफल व्यापारीहरूको लर्कोको पुछारतिर उभिएका होलान् । गलत राजनीतिक प्रवृत्तिको सिकार उनी पनि भएकै होलान् । रपनि उनीमा निराशा र हीनताबोधको भावना कहिल्यै जागृत भएन । उनी कृषक थिए, आज पनि गाईको स्याहार गरेर आफ्नो पैतृक पेसाप्रति न्याय गरिरहेका छन् । पछिल्ला दिनमा उनी व्यवसायी बने, आफ्नो व्यवसायप्रतिको लगाव उनमा अझै तीव्र बनिरहेको छ । एउटा नेपाली हुनुको नाताले समाजप्रतिको दायित्वलाई उनले इमानका साथ निर्वाह गरिरहेका छन् । सम्भावनाको खानी नेपालमा राजनीतिकर्मीहरू केवल आफ्नो र आफ्नै पारिवारिक पुस्ताको मात्र भविष्य सुनिश्चित गर्न लागिपरेका बखत उच्च नामधारी उद्योगपति र व्यापारीहरू यस देशप्रति प्रत्यक्ष रूपमा लगानी गर्न किन सकिरहेका छैनन् ? प्रतिकूल स्वास्थ्य अवस्थाका बाबजुद उनीभित्र पलाएको उत्साह, हौसला, कर्मप्रतिको लगाव, राष्ट्रमाथिको इमान अनि धर्तीमाताको मायालाई एकपटक नेपालका राजनीतिज्ञहरूले बुझ्ने धृष्टता गरिदिए कस्तो हुन्थ्यो होला देश ?

- उत्तम पुडासैनी

जोरपाटी, काठमाडौं



 सहमतिको राजनीतिमा भाँजो

प्रमुख दल सहमतिमा पुग्न नसकेपछि सहमतीय सरकार गठनका लागि राष्ट्रपति रामवरण यादवले पाँचौपटक पाँच दिनका लागि म्याद थप्नुभएको सुन्दा पक्कै पनि जनतालाई चित्त बुझेको छैन । सधै एकले अर्कालाई आरोप-प्रत्यारोप गर्दै समयसीमा थप्दै गरेका प्रमुख दलहरूले यो समयसीमामा पनि सहमति गर्लान् भन्नु बालुवामा घर बनाउँछु भन्नु जस्तै हो ।

प्रधानमन्त्री बाबुराम भट्टराईले वर्तमान सरकारलाई सहमतीय स्वरुप दिएर केही प्रमुख काम गरेपछि मात्र कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्नुपर्ने अडान राखेपछि बन्नलागेको सहमति पनि तुहिएको छ । यसमा सहमति नभए संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा वा साना दलको नेतृत्वमा सहमतीय सरकार बनाउने प्रस्ताव भट्टराईले राखेका छन् । देशले अब निकास नपाउने पक्कापक्की भइसकेको छ । राष्ट्रपतिले समयसीमा थप्नुबाहेक केही उपलब्धिमूलक काम र प्रमुख दलहरूलाई एक ठाउँमा राखेर उचित सुझाव र सल्लाह नदिँदा दलहरू आआफ्नै अडानमा बसेका छन् ।

अबको केही दिनमै राष्ट्रपतिले तेस्रो भारत भ्रमण गर्ने पक्का भइसकेको छ । त्यहाँ रहेका विशिष्ट नेताहरूको सुझाव र सल्लाहअनुसार उहाँ स्वदेश फर्केपछि केही हदसम्म भए पनि सहमति होला कि ?

- प्रकाश भण्डारी

रूपाकोट-३, बतासे, गुल्मी

हाल ः शंखमूल, नयाँबानेश्वर, काठमाडौं

प्रकाशित मिति: २०६९ पुस ५ ०८:५८

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-17
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

एऽऽ इस्थगित भो ?!... कोरम पुग्या जस्तो देखेसि क्यै चंै हुँदैछ भन्ने शंका त ला’थ्यो !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication