Kantipur

Kantipur

मिति | २०७१ वैशाख ६, शनिबार     Login | Register
मुख्य समाचार»

प्रधानमन्त्रीको सर्तले अप्ठ्यारो भो : दाहाल

काठमाडौ, पुस ४ -
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसमेत सहभागी भएको तीन दलका शीर्ष नेताको बैठकले प्रधानमन्त्री बाबुराम भट्टराई र मधेसी मोर्चाका कारण सहमतिमा गतिरोध पैदा भएको निष्कर्ष निकालेको छ ।

पार्टीभित्रको आन्तरिक कारण र मधेसी मोर्चासँग समेतको सहयोगका कारण प्रधानमन्त्रीले अघि सारेको सर्तलाई चिरेर जान आफूलाई समस्या परिरहेको दाहालले बताएका छन् । शीर्ष नेताहरूको बुधबार बिहान भएको गोप्य छलफलमा दाहालले आफ्नै पार्टीभित्र र मोर्चाबाट सिर्जित समस्याका कारण आफूलाई अप्ठ्यारो परेको बताएका थिए । अध्यक्ष दाहालले 'मैले त सार्वजनिक रूपमै कांग्रेस नेतृत्वमा जान सकिन्छ भनेर भनिसकेको छु । तर बाबुरामजीले समस्या खडा गर्नुभयो । यतिको समस्या होला भन्ने लागेको थिएन । कसरी हल गर्ने ?' भनी कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललाई भनेको स्रोतले बतायो । कोइराला र खनालले अबको समयभित्र पनि समस्या हल गर्न नसके स्थिति जटिल हुने उल्लेख गर्दै दाहाललाई भनेका थिए, 'यस्तो अवस्थामा मुलुकलाई हेरेर निर्णय गर्नुहोस् ।' प्रधानमन्त्रीले आफ्नै नेतृत्वको सरकारमा कांग्रेस-एम्ाालेलगायत दल सहभागी हुनुपर्ने र सहमतिहरूलाई यही सरकारले अघि बढाउँदै त्यसको कार्यान्वयनका लागि मात्र सत्ता हस्तान्तरण गर्न सकिने सर्त राखेका थिए । यही सर्तका कारण बन्न लागेको सहमति बिथोलिएको थियो ।  भट्टराईका कारण बन्न लागेको सहमति बिग्रेपछि उनलाई अन्तिम अवस्थासम्म 'फकाउने र मनाउने' विषयमा प्रमुख राजनीतिक दलका नेताहरूबीच विभिन्न विकल्पमा छलफल भएको छ । विपक्षी दलका नेताहरूले दाहाललाई पार्टीबाट निर्णय गरी सहमतिको सन्दर्भमा अघि बढ्न सुझाव दिएका छन् । मुलुकलाई निकास दिने अवस्थामा पार्टीभित्रको समस्यालाई चिरेर निर्णय लिन उनीहरूले दाहाललाई आग्रह गरे । विपक्षी नेताहरूले 'बाबुरामजीले अहिले जे गरिरहनुभएको छ र जे भनिरहनुभएको छ, त्यो उहाँको निजी हो कि पार्टीको भन्ने आशंका गरेका थिए ।

जवाफमा दाहालले पार्टीको नभएर भट्टराईकै कारण मात्रै समस्या उत्पन्न भएको भन्दै विश्वस्त तुल्याउन खोजेका थिए । पछिल्लो समयमा दाहाल सहमतिका लागि गम्भीर नै भएर लागेको विपक्षी दलका नेताहरूको बुझाइ छ । यसअघि कुरा फेर्ने दाहालको शैली भए पनि यस पटक उनी गम्भीर नै देखिएको उनीहरूको मूल्यांकन छ ।

सकेसम्म भट्टराईलाई मनाएर सहमति गर्ने दिशामा दलहरूबीच प्याकेज सहमतिमा छलफल भइरहेको छ । नेताहरूबीच भट्टराईको सम्मानजनक बहिर्गमन हुने गरी सहमतिको प्याकेज तयार पार्ने दिशामा छलफल केन्दि्रत थियो ।

शीर्ष नेताहरूको छलफलपछि दोस्रो तहका नेताहरूले थालेको अनौपचारिक छलफलमा पनि भट्टराईले राजनीतिक दलहरूले गरेको समझदारी नमाने के गर्ने भन्ने छलफल भएको थियो । त्यतिबेला दलहरूबीच भएको सहमति सीधै राष्ट्रपतिकामा पठाएर पनि निकास निकाल्न सकिने विकल्पमा छलफल भएको स्रोतले बतायो ।

एमाओवादी अध्यक्ष दाहालसहित भएको छलफल क्रममा पनि निर्वाचनमा जान बाधा अड्काउ फुकाउने, निर्वाचन आयोगमा पदाधिकारी नियुक्ति, निर्वाचनको मिति, संविधानसभाको आकार र राष्ट्रिय सहमतीय सरकारको नेतृत्व सहितको विषयलाई प्याकेजमा सहमति गरेर प्रधानमन्त्री बाबुराम भट्टराईमार्फत राष्ट्रपतिकामा सिफारिस गर्ने बाटोलाई पहिलो प्राथमिकता दिइएको छ । निर्वाचनका लागि संवैधानिक र कानुनी प्रबन्ध मिलाउने र निर्वाचन आयोगका आयुक्तहरू नियुक्तिका लागि बाधा अड्काउ फुकाउन मन्त्रिपरिषद्बाटै सिफारिस गर्नुपर्छ । अन्य विषय सीधै पठाउँदा पनि हुन्छ । प्रधानमन्त्री यसमा सहमत भए पहिला बाधा अड्काउ फुकाएर निर्वाचनको मिति तोक्ने काम हुनेछ । त्यसपछि राष्ट्रिय सहमतिको सरकारको प्रक्रिया सुरु हुनेछ । तर, ती सबै काम एक दिन गर्ने प्रस्ताव हुनेछ । 'यसो गर्दा भट्टराईको सम्मानजनक बहिर्गमन हुनेछ र सँगै प्रक्रियाको जस लिन पाउने अवस्था पनि रहन्छ,' स्रोतले भन्यो, 'अन्तिम अवस्थासम्म पनि मानेन भने प्रधानमन्त्रीलाई बाइपास गरेर सीधै राजनीतिक दलको सहमतिलाई राष्ट्रपतिकामा पठाउन सकिन्छ, यसो गर्दा पहिला राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र त्यसले मात्रै बाधा अड्काउ फुकाएर निर्वाचनमा जाने काम हुनेछ, सकभर त्यस्तो अवस्था सिर्जना नहोस् भनेर नै हामी लागिरहेका छांै ।'  

प्रधानमन्त्रीले अटेर गरे राजनीतिक दलहरूबीच छलफलमा रहेको पछिल्लो प्रस्ताव एमाओवादी अध्यक्ष दाहालका लागि भने जोखिमपूर्ण हुनेछ । त्यस्तो अवस्थामा पार्टीसमेत विभाजन हुन सक्ने अवस्था उत्पन्न हुन सक्ने र त्यतिबेला दाहाल पछि हट्न सक्ने आशंका कांग्रेस-एमाले गर्छन् । 'आजसम्म त प्रचण्डजी मान्नुहुन्छ भन्नेमा हामी ठुक्क छौं । भोलिको दिनमा गएर के हुन्छ भन्न सकिँदैन,' कांग्रेसका एक नेताले भने, 'तर, प्रचण्डजीलाई विश्वासमा नलिई हामी केही गर्न सक्दैनौं ।'

कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले सहमतिको विकल्प नरहेको बताउँदै निकास निकाल्न शीर्ष नेताहरू गम्भीर भएर लागेको बताए । 'शीर्ष नेताहरू गम्भीरतापूर्वक लाग्नु भएको छ । सहमति गरेर निकास निकाल्न प्रधानमन्त्रीले पनि अग्रसरता देखाउनुपर्छ । प्रधानमन्त्रीले अग्रसरता देखाए सबै समस्या समाधान हुन्छ,' सिटौलाले भने, 'प्रधानमन्त्रीले कुर्सीलाई ठूलो ठान्न हँुदैन । अबको तीन दिनभित्र सहमति जसरी पनि निकाल्नुपर्छ ।'  

प्रकाशित मिति: २०६९ पुस ५ ०८:५७

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-18
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication