पुस ४ -
अमेरिकाबाट विश्वले सिक्नुपर्ने धेरै छन् । बहुसांस्कृतिक सभ्यतालाई अमेरिकाले जसरी स्वागत गरेको छ, जसरी विश्वमा प्रभाव बढाएको छ र मानवअधिकार तथा लोकतन्त्रका पक्षमा यसले जसरी झन्डा फहराइरहेको छ- सबै उदाहरणीय छन् । क्षमतावान् जोसुकैलाई नागरिकता नहेरी स्वीकार गर्नु अमेरिकाको उदारवादी उदाहरणीय पहिचान पनि हो, जो अरू मुलुकमा पाइन्न । विश्वका कतिपय मुलुकमा क्षमतावान् कोही बाहिरको नागरिक आयो भने, 'लौ, यसले मेरो भाग खोस्ने भयो' भनेर टिन ठटाउँदै लखेटिन्छ । तर अमेरिका त्यसो गर्दैन, जसले गर्दा आज यस मुलुकमा नेपालीको संख्या उल्लेख्य हुन पुगेको छ । अमेरिकामा नेपालको ठूलै जिल्लाका जनता बराबर अर्थात् ६ लाख ५० हजार नागरिक घरबारविहीन रहेको आवास तथा सहरी विकासको पछिल्लो तथ्यांकले देखाएको छ । विश्व महाशक्ति राष्ट्रको एक अँध्यारो पाटो हो यो । क्रिसमसको उत्सव तथा नयाँ वर्षको आगमनमा विश्वले उत्सव मनाउने तयारी गरिरहेका बेला अमेरिकाको एक समुदाय घरबारविहीन दिवस मनाउँछ । डिसेम्बर २१ का दिन मनाइने यस दिवसले क्रिसमसमा रमाउनेहरूलाई घोच्न त सक्छ, तर विश्वको समृद्ध भनिने समाज र राजनीतिक नेतृत्वलाई नै घोचोस् भन्ने पनि यसको उद्देश्य रहेको देखिन्छ । गत वर्ष प्रकाशित यससम्बन्धी कार्यक्रमको विज्ञप्तिको प्रारम्भ अनुच्छेदमै लेखिएको वाक्य हृदय छुनेखालको छ । 'तपाईंहरू जो घरबारविहीन भएर मृत्युको मुखमा पुगेका आफन्त, साथीसंगी, परिवारका सदस्य, छिमेकीको स्मरण गर्दै भावविह्वल हुनुभएको छ, सबै यस दिवसमा सरिक हुनुहुन्छ ।'
घरबारविहीनका लागि रातको समय, त्यसमा पनि चिसोको सबैभन्दा लामो रात्री हुने दिन डिसेम्बर २१ कहर सावित हुने गर्छ । गर्मीभन्दा जाडोमै घरबारविहीनको मृत्यु हुन्छ । यही सन्दर्भलाई मिलाउँदै सन् १९९० देखि यसै दिनमा घरवारविहीन दिवस मनाउने गरिएको नेसनल कोलिसन फर द होमलेसलगायतका संस्थाले जनाएका छन् । यस दिवसका आयोजकले सहयोगका लागि सबैलाई अनुरोध गर्दै सहयोगका तरिका पनि बताएका छन् ।
घरबारविहीनको सन्दर्भले मात्र अमेरिकाको भित्री स्वरूप आलोच्य छैन, शान्ति-सुरक्षाका दृष्टिले पनि यस मुलुकको आलोचना हुन थालेको छ । सन् २००१ को सेप्टेम्बर ११ का जस्ता आतंककारी आक्रमणका कारणले मात्र अमेरिका असुरक्षित भएको होइन, ससाना केटाकेटी पढ्ने स्कुलमा प्रवेश गर्ने बन्दुकधारीका कारण पनि यसको आलोचना हुँदै आएको छ । अमेरिकाका नागरिकमा यतिखेर जुन व्यवहारलाई सभ्यता ठानिएको र वर्षौंदेखि पालना गर्दै आइएको छ, यही ठीक बाटो हो भन्ने बहस चलेको छ ।
उदाहरण बनेको छ न्यु टाउनको स्यान्डी हुक एलिमेन्टरी स्कुलमा भएको पछिल्लो अत्यन्त शोकपूर्ण घटना । २० बालबालिकासहित २७ निर्दोष नागरिकको हत्या भएको यस घटनालाई अमेरिकी इतिहासको अहिलेसम्मको सबैभन्दा हृदयविदारक सामूहिक हत्या मानिएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार बन्दुकधारीले सयौं राउन्ड गोली चलाएको थियो र बालबालिका डराएर भागाभाग गरेका थिए । आफैं किशोर उमेरको त्यस व्यक्तिले किन अन्धाधुन्ध गोली चलायो, त्यसमा केन्द्रीय सरकारले अपनाएको निजी रूपमा हतियार राख्न पाउने व्यवस्था पो दोषी छ कि भन्ने पनि बहस सुरु भएको छ ।
स्यान्डी हुक एलिमेन्ट्री स्कुलमा पाँचदेखि १० वर्षसम्ममा बालबालिका पढ्छन् । ह्वाइटहाउसमा आयोजित एक पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले घटनाले अमेरिकालाई ठूलो धक्का लागेको बताएको र यस्ता घटना रोक्न तत्काल आवश्यक कदम चाल्नुपर्ने धारणा व्यक्त गरेको समाचार माध्यमले सार्वजनिक गरे । पटक-पटक आँसु पुछ्दै गरेका ओबामाको अवस्था हेर्दा यस्ता घटना नदोरियून् भन्नका लागि नयाँ ऐन बन्छ कि भन्ने आस पलाएको छ । खुला रूपमा हतियार राख्न पाउने व्यवस्था प्रत्यक्ष विवादको विषय बन्दै आएको छ । नागरिक अधिकारका नाममा उनीहरूलाई हतियार राख्न दिँदा मानव सभ्यतालाई नै चोट पुग्ने कार्य हुन्छ भने राख्न नदिँदा पो यस्ता घटनाको संख्या न्यून हुन्थ्यो कि ? महाशक्ति राष्ट्रले सोच्नु आवश्यक भएको छ ।