Kantipur

Kantipur

मिति | २०७१ वैशाख ११, बिहीवार     Login | Register
सम्पादकीय»

पद थप्ने असान्दर्भिक प्रयत्न

पुस ४ -
नेपाली सेनाले प्राविधिकतर्फ एक रथीको दरबन्दी सिर्जना गर्ने प्रस्ताव अगाडि बढाएको छ । हाल सेनामा बलाध्यक्ष र बलाधिकृत गरी दुई रथी छन् । थपिएमा सेनामा तीनजना तीनतारे जर्नेल अर्थात् रथीहरू हुनेछन् । सैनिक ऐनमा प्राविधिकतर्फका अधिकृत उपरथीसम्म हुने व्यवस्था छ । सेनाले विकास निर्माण तथा स्थपति महानिर्देशनालयको स्तरोन्नति गरी रथीले नेतृत्व गर्ने विभाग बनाउन लागेको हो । हाल त्यही महानिर्देशनालयका प्राविधिक उपरथी नरेश बस्नेतलाई बढुवा गर्नकै लागि रथी पद सिर्जना गर्न खोजिएको स्पष्ट छ । किनभने सेनामा इन्फेन्ट्री -पैदल सैनिक) र प्राविधिकतर्फको जिम्मेवारी स्पष्ट कोरिएको छ । दुवै सेवाका अधिकृतले एक-अर्को सेवामा प्रवेश पाउँदैनन्, जुन सेवामा भर्ना भएको हो त्यसैमा अवकाश पाउँछन् । प्राविधिक उपरथीका रूपमा बस्नेतको पाँचवर्षे पदावधि यही पुस १४ गते सकिंदैछ । सेनामा प्राविधिकतर्फ त्यसभन्दा माथिल्लो पद छैन । त्यसैले पनि बस्नेतको पदावधि सकिनै लाग्दा रथी थप्न हतारो भएको हो ।

सेनाभित्र अनियमितताका केही प्रकरणमा जोडिएका बस्नेतको छवि पनि विवादित छ । सरकारले सेनालाई विभिन्न स्थानमा सडक खोल्ने/खन्ने जिम्मेवारी दिएको छ । ठूलो आर्थिक कारोबार हुने यस्तो काम सेनाभित्र बस्नेत नेतृत्वको निकायले गर्छ । बस्नेत करिब १५ वर्षदेखि उक्त निकायको प्रमुख छन् । पहिले महासेनानी नेतृत्वको उक्त निकायलाई स्तरोन्नति गर्दै उपरथीले नेतृत्व गर्ने बनाइएको हो । करिब चार हजार जनशक्ति रहेको उक्त निकायको स्तरोन्नति बस्नेतकै बढुवाका लागि गरिएजस्तो देखिन्छ । प्राविधिकतर्फका भएकाले छिटोछिटो बढुवा भई उनी ३० वर्षे सेवा अवधिमै उपरथी बनेका हुन् । सेनामा उनीभन्दा पहिलेदेखि काम गरेका कतिपय अधिकृत एक तहमुनि सहायकरथी पदमै छन् । अहिले पनि व्यक्ति विशेषलाई हेरेर दरबन्दी थप्नु उचित होइन ।

सबैभन्दा प्रमुख कुरा, सेनाजस्तो राष्ट्रिय सुरक्षा अंगमा पद थप्दा वा आन्तरिक पुनर्संरचना गर्दा निश्चित मापदण्ड पूरा गर्नुपर्छ । हचुवाका भरमा अघि बढाइने प्रक्रियाले सैनिक संगठनमा दूरगामी असर पर्नसक्छ । यसअघि तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङले पनि दुई रथीसहित सिपाहीमाथिका करिब चार हजार पद थप्ने गरी पुनःस्थापनाको प्रस्ताव अगाडि सारेका थिए । सैनिक जनशक्तिका आधारमा माथिल्लो पद कम हुँदा थुप्रै क्षमतावान अधिकृत तल्लो तहबाटै अवकाश पाउनुपर्ने अवस्था रहेको भन्दै उनले समग्र दरबन्दी नबढ्ने गरी पद सिर्जना गर्न खोजेका थिए । द्वन्द्वकालमा दुई गुणा जनशक्ति बढेर करिब ९५ हजार पुगेको सेनाभित्र त्यस अनुपातमा माथिल्ला पद भने कमै थपिएका थिए । गुरुङले उपरथी पवन पाण्डेको नेतृत्वमा पुनर्संरचनासम्बन्धी एक समितिसमेत बनाएर त्यसको प्रतिवेदनका आधारमा तत्कालीन रक्षामन्त्री विद्या भण्डारीकै पालामा २०६६ साउनमा पुनर्संरचना प्रस्ताव सरकारसमक्ष पेस गरेका थिए । तत्कालीन व्यवस्थापिका-संसद्को राज्यव्यवस्था समितिले सेनाको लोकतान्त्रीकरण, पुनर्संरचना तथा आधुनिकीकरण र समग्र संगठन तथा पद्धति -ओएण्डएम) सर्वेक्षणपछि मात्रै पुनर्संरचना गर्नु उचित हुने निर्णय गरेपछि पद थप्ने उक्त प्रस्ताव रोकिएको थियो । त्यो प्रक्रिया पूरा नगरीकन अहिले त्यसलाई पुनः ब्युँत्याइएको छ ।

द्वन्द्वकालमा दुगुना बढाइएको सेनाको जनशक्ति अहिलेको सन्दर्भमा कति आवश्यक छ, यसलाई कुन आकारमा राख्ने भन्ने जस्ता तमाम नीतिगत निर्णयहरू पनि गर्न बाँकी छन् । यस्तो अवस्थामा कुनै व्यक्ति विशेषलाई बढुवा गर्नका लागि, त्यसमाथि व्यापक अध्ययन/अनुसन्धान त परै जाओस्, सेनाको नीति निर्माण तह ँपि्रन्सिपल स्टाफ अफिसर्स’ मा छलफलै नचलाई सरकार परिवर्तनको प्रयास भइरहेका बखत उक्त प्रस्ताव अगाडि बढाइनुलाई संशयको दृष्टिले हेरिएको छ । रथी थप्ने प्रस्ताव जंगी अड्डाले रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्रीसँग सोझै सम्पर्क राखी अगाडि बढाएको हो, रक्षाको कर्मचारी तह यसबारे जानकार छैन । प्रधानमन्त्री स्वयंले पनि घरेलु राजनीतिमा पकड गुम्दै गएका बेला सेनालाई रिझाउने उद्देश्यले उक्त प्रस्तावलाई ँहरियो झन्डा’ देखाएको चर्चा भएको छ । विपक्षी दलका केही नेताले त प्रधानमन्त्री सेनालाई हातमा लिएर सत्ता लम्ब्याउने खेलमा लागेको गम्भीर आरोपसमेत लगाएका छन् । यी विषयबारे सार्वजनिक सञ्चार माध्यममा व्यापकता पाएका बेला प्रधानमन्त्री तथा सैनिक तहबाट कुनै प्रतिक्रिया व्यक्त भएको छैन ।

नेपाली सेनाजस्तो संवेदनशील निकायमा लहड र हचुवाका भरमा पद थप र संरचना परिवर्तन गर्दा पर्ने दूरगामी प्रभावबारे सरोकारवालाले ध्यान दिनुपर्छ । अन्यथा राजनीतिक हस्तक्षेपबाट टाढा रहेको भनिएको, व्यावसायिक मानिएको र गौरवपूर्ण इतिहास भएको सेनाको छवि धुमिल हुनसक्छ । सैनिक र राजनीतिक नेतृत्व दुवै यसबारे सजग हुनुपर्छ ।

प्रकाशित मिति: २०६९ पुस ५ ०८:५५

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-24
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

काम्रेड नेपाल, नेता नेपाल, पुरानै नेपाल... यतिका शब्द हुँदाहुँदै जान्ने भ’र ह्याँ किन 'नयाँ नेपाल’ राख्नु भा’ ?

विज्ञापन

Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication