Kantipur

Kantipur

मिति | २०७१ वैशाख ४, बिहीवार     Login | Register
दृष्टिकोण»

प्रचण्डको परीक्ष्

काठमाडौ, मंसिर २६ -
एमाओवादीको हातमा यतिबेला सत्तामात्र होइन, सडक पनि छ । विपक्षीहरूको सडक आन्दोलन गफमै सीमित भएको बेला उसले सत्ता र सडकको मोर्चा उत्तिकै बलियो बनाएको छ । कार्यनीतिक रूपमा होस् या रणनीतिक उसको दाउपेचमा विपक्षी कांग्रेस, एमाले रणभुल्लमा परेका छन् । कति बेला एमाओवादीले के एजेन्डा ल्याउँछ भन्ने अड्कल गर्न नसक्दा उनीहरू गोलचक्करमा फसेको जस्तो देखिएको छ ।

केही समय अघिका दुईवटा उदाहरणले उसको रणनीति प्रस्ट हुन्छ । संविधानसभा पुनःस्थापना र निर्वाचनका प्रस्ताव संँगसंँगै अघि सार्नु । एमाओवादीको यो हतियारले निर्वाचनमा जानुपर्ने पक्ष र संविधानसभा पुनःस्थापना गर्न खोज्ने दुबैलाई समेट्न खोजेको जस्तो देखिन्छ । एमाओवादीका लागि निर्वाचनभन्दा संविधानसभा पुनःस्थापना सहज छ, तर सर्वोच्च अदालतको ताजा जनादेशमा जानुपर्ने निर्णयले गर्दा उसले निर्वाचनको कुरा दोस्रो नम्बरमा राखेको थियो । पार्टी विभाजन भएको अवस्थामा निर्वाचन उसका लागि सहज छैन भन्ने कुरा राम्ररी थाहा छ । तर विपक्षी कांग्रेस, एमाले पनि निर्वाचनको मुडमा छैनन् भन्ने उसको बुझाइ छ ।  निर्वाचन भयो भने मोहन वैद्यले नेतृत्व गरेको माओवादीले कस्तो रणनीति लिन्छ, त्यसले एमाओवादीलाई प्रभाव पार्छ । उसले निर्वाचनमा भाग लियो भने एमाओवादीलाई अप्ठ्यारो पर्छ, यदि उसले निर्वाचन बहिस्कार गर्‍यो भने एमाओवादीलाई खासै प्रभाव पर्दैन । मधेसी मोर्चासंँगको गठबन्धन टुटेन भने निर्वाचनका लागि माहोल बनाउन उसलाई सहज हुन्छ । निर्वाचन हुने भयो भने एमाओवादी अध्यक्ष प्रचण्डको संयोजकत्वमा रहेको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन रहिरहन त्यति सजिलो छैन । यद्यपि उनीहरूको लिखित अवधारणापत्रमा निर्वाचनसम्म गठबन्धन रहने उल्लेख गरेका छन् । हाल सरकार नछाड््ने कुरामा मधेसी मोर्चाको दबाब पनि उसलाई चर्कै परेको हुनुपर्छ । त्यसकारण सरकारको नेतृत्व गठबन्धन भित्रबाटै गर्नुपर्छ भन्ने प्रचण्डको भनाइ पनि त्यसरी नै आएको हो ।

तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधन भएपछि प्रचण्ड राजनीतिका केन्द्रमा पुगे । मृत्युको शैयाबाट त्यसबेला कोइरालाले शान्ति र संविधान निष्कर्षमा पुर्‍याउने जिम्मा प्रचण्डको काँधमा आएको स्वयं उनले भन्दै आएका छन् । कोइरालाको निधनपछि मुलुकको राजनीति यसरी गोलचक्करमा फस्यो कि लडाकु समायोजन प्रक्रियाबाहेक महत्वपूर्ण काम केही हुनसकेनन् । जबसम्म कि संवैधानिक निकायमा नियुक्ति गर्ने कामसमेत दलहरूले गर्न सकेनन् । मुलुकलाई नयाँ संविधान दिने कुरा त भाषण र बैठकमा सीमित देखिन्छ । विघटित संविधानसभाको ठूलो दलको हैसियतले प्रचण्डले धेरैपटक बोल्ड डिसिजन गरेको बताएका छन्, उनको बोल्ड डिसिजन शान्ति प्रक्रियामा भएको हो । जो पार्टी फुटको एउटा कारण पनि बन्यो । शान्ति प्रक्रिया अन्तर्गतको लडाकु समायोजनको काम अब अन्तिम चरणमा पुगेको छ । प्रचण्डको यो बोल्ड डिसिजनलाई सबैले सराहना गरेका छन् ।

संविधान निर्माणको काम अझै अधुरै छ । संविधानसभा विघटनपछि त यो झनै अन्यौलमा परेको छ । संविधानसभा विघटन भएपछिको जटिल संक्रमणकाललाई ट्रयाकमा ल्याउन दलहरूलाई हम्मेहम्मे परेको छ । संविधानसभा निर्वाचनमा जान दलहरू सैद्धान्तिक रूपमा सहमत भए पनि सरकारकै कारण त्यसले पनि मूर्तरूप पाउनसकेको छैन ।

अर्को कुरा, सरकार नछाड्ने र छाड्नुपर्ने अडानमा छन् । प्रचण्ड सहमतिका लागि भन्दै नेताहरूको घरदैलो धाएका छन् । सहमतिको रटान निरन्तर लगाएका छन् । तर सहमतिको संकेत देखिएको छैन । धेरैले भन्ने गरेका छन्, प्रचण्डले चाहे भने सहमति हुन्छ । प्रचण्डले हरेक दिन सहमतिको रटान लगाएकै छन्, अनि प्रचण्डले चाहे भने सहमति हुन्छ भन्नुको अर्थ के हो ? विपक्षीहरूले प्रचण्डले मुलुकको राजनीतिलाई गोलचक्करमा घुमाउँदा-घुमाउँदै आफै गोलचक्करमा फसेको आरोप पनि लगाएका छन् । उनले बेला-बेला भन्दै आएका छन्, भद्रगोलमै गोल गर्नुपर्छ । उनको यो भनाइलाई सही मान्ने हो भने मुलुकको यो भद्रगोलमा गरेको गोलले निकास कसरी दिन सक्ला ?

प्रचण्डले पछिल्लो समयमा धेरै भयो बोल्ड डिसिजन नगरेको । कि उनले भद्रगोलमा गोल गर्दै बोल्ड डिसिजन गर्न खोजेका हुन् ? धेरै दिन आफ्नो राजनीति बलियो बनाउन मुलुकलाई गोलचक्करमा फसाउने काम प्रचण्डबाट हुनुहँुदैन । अब उनको पहिलो काम कांग्रेसलाई विश्वासमा लिएर अघि बढ्नु नै हो, त्यसपछि एमाले लगायत अन्य दललाई पनि साथमा लिनुपर्छ । कांग्रेसका कतिपय संवेदनशीलतालाई उनले बुझिदिनुपर्छ, जसरी गिरिजाप्रसादले उनको संवदेनशीलतालाई बुझेका थिए । कांग्रेसलाई चिढाएरभन्दा विश्वासमा लिएर अघि बढ्दा प्रचण्डको हात माथि पर्छ । कांग्रेस सभापति सुशील कोइरालाले चित्त दुखाइ पनि त्यही हो कि प्रचण्डले विश्वास दिन सकेनन् । पछिल्लो पटक कोइरालाले प्रधानमन्त्री हुन तयार देखिए पनि सत्तारुढ गठबन्धन र एमाओवादीले संविधानमा पहिले भएका सहमति मान्ने हो भनेमात्र कोइरालालाई स्वीकार गर्न सकिन्छ भन्ने जवाफ फर्काएको छ ।

गिरिजाप्रसादपछि नेता आफै भएको पुष्टि गर्न प्रचण्डले राजनीतिक निकासका लागि केही न केही त गर्नर्ैपर्छ । होइन भने गिरिजाप्रसादपछि जिम्मेवारी आफ्नो काँधमा आएको छ भन्न छाड्नुपर्छ । यति बेला प्रचण्डका हातमा सरकारको साँचो पनि छ । एक हिसाबले यतिबेला प्रचण्डको हातमा सत्ता छ । मधेसी मोर्चासहितको संघीय लोकतान्त्रिक गठबन्धनका अध्यक्ष पनि उनी हुन् । उनले सत्ता, गठबन्धनलाई मुलुकमा द्वन्द्व बढाउन होइन, समाधान निकाल्न उपयोग गर्नुपर्ने बेला छ । तर एक साता यताका उनको गतिविधिलाई धेरैले समाधान निकाल्नेभन्दा रणनीतिक चालका रूपमा बुझेका छन् । यसले दलहरूबीच थप आशंका बढाइदिएको छ । प्रचण्डलाई नेपाली राजनीतिको सर्वाधिक प्रभावशाली नेताको रूपमा हेरिन्छ । साथसाथै उनलाई कुरा फेरिरहने नेताको रूपमा पनि स्थापित गर्न खोजिएको छ । यी दुई विरोधाभाषबीच प्रचण्डले छाड्ने घोषणा गरेको लाजिम्पाटको निवासमा रात काटिरहेका छन् ।

यदि मुलुकको निकास दिने शक्ति एमाओवादी नै हो भने उसले जनताको निराशालाई चिर्न सक्नुपर्छ । प्रचण्ड नै मुलुकका प्रभावशाली नेता हुन् भने उनी पार्टीभन्दा माथि उठेर दीर्घकालीन हितका लागि किन सोच्न सक्दैनन् ? उनलाई जानकारी हुनुपर्छ कि मुलुकको हितमा नै एमाओवादी र उनको भविष्य अडेको छ । उनले केही दिनअघि एक कार्यक्रममा भने, इतिहासले सबै कुराको मूल्यांकन गर्नेछ, कसले मुलुकका लागि के गर्‍यो भनेर । उनले यसो भनिरहँदा उनीतिर त्यो कुरा पनि सोझिएको

छ । एमाओवादीको अगाडि मुलुकको राजनीतिक संक्रमणकाललाई अन्त्य गर्नु नै एकमात्र विकल्प छ । किनकि उसको राजनीतिक भविष्य यसमै टिकेको छ । उसको सशस्त्र युद्धमा बगेको हजारौ नेपालीको रगतको सन्देश पनि त्यही हो । यो कुरा प्रचण्डले गहिरोसंँग बुझेर कदम चाल्नु अहिलेको आवश्यकता हो ।

प्रकाशित मिति: २०६९ मंसिर २७ ०९:०७

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper 	Epaper - Kantipur Daily 2014-4-16
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

हेलो ! मार्साप !.. अनि धाराको पानी चैं कैले नुहाउन लायक बनाइदिनुहुन्छ नि ?

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication