Kantipur

Kantipur

मिति | २०७१ वैशाख १२, शुक्रबार     Login | Register
दृष्टिकोण»

चौतारी : पूर्वजलाई सम्भिने पर्व

मंसिर २६ -
कुनै चाडपर्वले धार्मिक भावना व्यक्त गरेको हुन्छ भने कुनैले सामाजिक जीवनका विविध पक्षको गरिमा अभिव्यक्त गर्छ । तिनै चाडमध्ये पौराणिक र धार्मिक आस्थाअनुसार मनाइने पर्व 'बाला चतुर्दशी' पनि हो । यो पर्व चान्द्र पात्रोको गणनानुसार मंसिर महिनाको कृष्णपक्षको चतुर्दशी तिथिका दिन पर्छ । यस दिन आमाबाबु नभएका सन्तान अथवा सन्तान नभएका आमाबाबुले मरेका आफन्तको चिरशान्ति र मोक्षको कामनासहित पशुपति  क्षेत्रको श्लेष्मान्तक वनमा गई शतबीज छर्ने गर्छन् । शतबीज भन्नाले धान, गहुँ, जौ, मास, मुगी, कागुनो र सामा मिसाएर बनाइएको पदार्थका साथै केरा, सुन्तला, स्याउ, मुला, काँक्रो, सखरखण्ड, पिँडालु आदि सय किसिमका फलफूल मिसाई बनाइएको पदार्थको सम्मिश्रण हो । सप्त धान्यादि अन्नहरू भुइँमा छर्ने वा रोप्ने दिन भएकाले यस दिनलाई शतबीज छर्ने दिन भनिएको हो ।

भगवान् शिवले मृग रूप लिएर विचरण र विहार गर्नुभएको स्थललाई पुण्य क्षेत्र मानिन्छ र त्यस पुण्यभूमिमा शतबीज छर्दा उक्त बीजहरूमध्ये एक गेडो अन्नबाट मात्र पनि एक रति सुन छरेझैं पुण्य प्राप्ति हुन्छ भनी मृगावतारका समयमा शिवजीले आकाशवाणीबाट आदेश गरेको विश्वास गरिन्छ । त्यसैले यस पर्वको कथा र त्यसको कार्यपीठिका शिवले मृग रूप लिई विचरण गरेको पशुपतिनजिकैको श्लेष्मान्तक वन र त्यस वरपरको क्षेत्र रहेको देखिन्छ । त्रयोदशीका दिन श्रद्धालु भक्तजनहरू आआफ्नो परम्परा र संस्कृतिअनुसार पशुपतिनाथ मन्दिरको प्रांगण र छेउछाउमा बास बसी आआफ्ना दिवंगत पितृको आत्माको चिरशान्तिका लागि रातभरि 'महादीप' बालेर भजनकीर्तन गर्छन् । भोलिपल्ट बिहानै वागमतीमा नुहाई पशुपति क्षेत्रका सम्पूर्ण देवीदेवताको परिक्रमा गरी पशुपति क्षेत्रमा शतबीज छर्छन् । यसलाई 'चतुर्दशी यज्ञ' पनि भनिन्छ । काठमाडौंको पशुपतिमा आउन नसक्नेहरू आफ्नै ठाउँ पायकका शिवमन्दिरमा गई शतबीज छर्छन् ।

बाला चतुर्दशीका दिन श्लेष्मान्तक वन क्षेत्रमा शतबीज छर्ने चलन कहिलेदेखि सुरु भएको भन्ने निश्चित र प्रामाणिक तिथिमितिको यकिन छैन । यस पर्वलाई खास गरी शिवभक्ति र पितृभक्ति गरी दुईवटा आधारमा मनाउने गरेको देखिन्छ । विभिन्न पुराण र स्वस्थानी कथामा समेत भगवान् शिवको मृग रूप धारण गरेको कथाप्रसंग प्राप्त हुन्छ । कथाअनुसार शिवले श्लेष्मान्तक वनमा मृगको रूप धारण गरी लामो समय व्यतीत गरेपछि छटपटिएकी पार्वतीले बागमती किनार स्थित मृगस्थलीमा भगवान् शिवले मृगको रूपमा विहार गर्नुभएको थाहा पाई शिवरूपी मृगलाई चिन्न विभिन्न किसिमका बीजहरू छरेको र तिनै बीजबाट केही दिनपछि घाँसबिरुवा उमि्रएको, ती घाँसबिरुवामा आकषिर्त भई मृगको बथान जम्मा भएको अनि पार्वतीले शिवलाई मृगका रूपमा भेटेको वृत्तान्तसँग गाँस्दै पार्वतीले सुरु गरेको शतबीज छर्ने काम पछि गएर परम्परा बनेको बताइन्छ । यस दिन पशुपतिनाथ, गुह्येश्वरी र वासुकी आदि देवताको दर्शन गर्नाले प्रशस्त फल मिल्ने र मृगस्थलीमा टेक्ने व्यक्तिको  मोक्ष हुन्छ भनी हिमवत् खण्डमा उल्लेख गरिएको छ । ब्राह्मण, क्षेत्री, नेवार, मगर, गुरुङ, राई, लिम्बु, तामाङ आदि विभिन्न वर्ग र जातिका मानिसहरूले यस पर्वलाई मनाएको पाइन्छ । यस पर्वमा लिंग, धर्म र सम्प्रदायको भेदभाव छैन । नेवार समुदायमा यस दिनलाई 'बालाचह्रे' भन्ने गरिन्छ ।

पौराणिक आख्यान वा लोकगाथाको प्रभावबाट प्रारम्भ भए पनि यस पर्वले मनुष्यले प्रकृतिको कोखबाट जन्म लिने र अन्त्यमा प्रकृतिमै विलीन हुनुपर्ने यथार्थ पक्षलाई समातेको छ । चराचर प्राणी प्रकृतिका अनन्य अंग हुन् र तिनको निकटस्थ अन्तरसम्बन्ध छ भन्ने भावलाई पनि बाला चतुर्दशीले ग्रहण गरेको छ । सारांशमा यस पर्वले मनुष्य र अन्य जीवजन्तुसँगको आत्मीय सम्बन्धलाई उजागर गर्दै मेलमिलाप, भाइचारा र विश्वबन्धुत्वको सन्देशलाई जीवन्त तुल्याएर मृतकप्रति आफन्तहरूले प्रकट गर्नुपर्ने भाव र कर्तव्यबोधलाई समेत उपस्थापन गरेको देखिन्छ । यसरी यस पर्वले प्रकृति र पूर्वज दुवैलाई सम्झिने साझा दिनका रूपमा आफूलाई उभ्याएको छ । तसर्थ यो पर्वको नेपाली समाज र संस्कृतिमा महत्त्वपूर्ण स्थान छ ।

लेखक पिण्डेश्वर विद्यापीठ, धरानका उपप्राध्यापक हुन् ।

प्रकाशित मिति: २०६९ मंसिर २७ ०९:०२

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-24
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

काम्रेड नेपाल, नेता नेपाल, पुरानै नेपाल... यतिका शब्द हुँदाहुँदै जान्ने भ’र ह्याँ किन 'नयाँ नेपाल’ राख्नु भा’ ?

विज्ञापन

Travel de society Travel USA Radio Kantipur
  हाम्रा प्रकाशनहरु :
Our Publication