काठमाडौ, मंसिर २६ -
सार्वजनिक यातायातमा महिलाका संवेदनशील अंगमा छुने, चलाउने र आँखा वा अनुहारको इशाराले जिस्क्याउनेलाई नियन्त्रणमा लिन सरकारले सादा पोसाकका प्रहरी परिचालन गर्ने भएको छ । विशेष गरी उपत्यकाका सवारीमा यात्रु चाप हुने र पुरुष यात्रुले दुव्र्यवहार गरेको उजुरी बढेपछि प्रहरी र प्रधानमन्त्री कार्यालयले यात्रुको भेषमा महिला प्रहरी खटाउन लागेको हो । प्रधानमन्त्री कार्यालयका अनुसार त्यसका लागि अन्तर मन्त्रालयस्तरीय बैठकले 'सार्वजनिक यातायात आचार संहिता' बनाएको छ । खचाखच भरिएको बसमा महिला यात्रुलाई नियतवश धकेल्ने, हात चिप्लिए जस्तो गरेर छुनेजस्ता क्रियाकलाप हुने गरेका छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालयका एआईजी नवराज ढकालले सार्वजनिक सवारीमा हुने हिंसा रोक्न प्रहरी परिचालनको तयारी भएको बताए । लैंगिक हिंसा अन्त्यका लागि शून्य सहनशीलता विषयक गोष्ठीमा ढकालले प्रहरी त्यसप्रति संवेदनशील भएको उल्लेख गर्दै भने, 'कुनै पनि दुव्र्यवहार रोक्न प्रहरी प्रतिवद्ध छ ।' प्रधानमन्त्री कार्यालयका जनसरोकार सचिव कृष्णहरि बाँस्कोटाले सार्वजनिक सवारीमा हुने दुव्र्यवहारबाट बचाउन दस कक्षा पढिरहेकी छोरीलाई स्कुटर सिकाइरहेको बताए । 'आमाको स्कुटर सिकिरहेकी छ, एसएलसी पास गर्नेबित्तिकै स्कुटर किन्दिन्छु,' उनले भने । दुव्र्यवहारबाट बचाउन आफू कडाइका साथ लाग्ने उनले बताए । दुव्र्यवहार गर्ने व्यक्तिलाई तुरुन्त पक्राउ गरिने सचिव बास्कोटाले बताए । समाजमा सम्मान र सभ्यता विकास गर्न अभियान थाल्न लागेको उनले जानकारी दिए । दुव्र्यवहार गर्ने व्यक्तिलाई सार्वजनिक अपराध ऐनमा मुद्दा चलाइनेछ । सरकारले तयार गरेको आचार संहितामा उल्लेख भएअनुसार सवारीका सहयोगी र चालकले महिलासँग शिष्ट र सभ्य भाषामा कुरा गर्नुपर्नेछ । सहयात्री पुरुष यात्रुले समेत शिष्ट भाषा प्रयोग गर्नुपर्ने संहितामा छ । 'सवारी साधनभित्र महिलालाई यौन दुव्र्यवहार गरे वा गर्न सहयोग गरे कारबाही हुनेछ,' बास्कोटाले भने । आचार संहिताअनुसार सवारीमा धूमपान गर्न पाइने छैन । त्यसो गरे तुरुन्त ओरालिनेछ । सार्वजानिक सवारी साधनमा अश्लील, महिला विरुद्धका उद्धरणहरू लेख्न, लेखाउन पाइने छैन । अश्लील चित्र र पोस्टर टाँस्न समेत आचार संहिताले प्रतिबन्ध लगाएको छ । 'त्यस्ता चित्र वा पोस्टर टाँसिएको र लेखिएको पाए तुरुन्त हटाउनुपर्नेछ,' बाँस्कोटाले भने, 'लैंगिक हिंसालाई प्रोत्साहित गर्ने वा महिलावर्गको अपमान हुने खालको गीत संगीत र भिडियो बजाउन पाइनेछैन ।' लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा महानगरीय प्रहरी आयुक्तको कार्यालयले गरेको छलफलमा सहभागीले भाडाका सवारी साधनमा महिलामाथि हिंसा हुने गरेको गुनासो गर्दै त्यस्ता घटना रोक्न प्रहरीलाई आग्रह गरेका थिए । सवारी साधनमा यस्ता आचारसंहिता पालना भए/नभएको अनुगमन गर्न केन्द्रीय, अञ्चल र जिल्लास्तरमा समिति पनि बनाइएको छ । केन्द्रमा यातायात व्यवस्था विभागका निर्देशक संयोजक रहने गरी ट्राफिक प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात मजदुर, महिला आयोगका सदस्य प्रतिनिधि रहने व्यवस्था गरेको छ । यस्तै, अञ्चल र जिल्लास्तरमा पनि अनुगमन समिति राखिएको छ ।
प्रकाशित मिति: २०६९ मंसिर २७ ०८:५७
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?