काठमाडौ, मंसिर २६ -
खराब मौसमका कारण आइतबारदेखि प्रभावित हवाई उडान बिहीबारदेखि मात्र सुरु हुन सक्ने त्रिभुवन विमानस्थलले जनाएको छ । मौसमविद्हरूले पूर्वी भेगमा लागेको हुस्सु र कुहिरो बिस्तारै पश्चिम सरिरहेकाले बिहीबारसम्म पूर्वको मौसम सफा हुने जानकारीका आधारमा विमानस्थलले यस्तो अनुमान गरेको हो ।
मौसम खराब भएपछि पूर्वी क्षेत्रमा ३ दिनदेखि उडान अवरुद्ध हुँदै आएको छ । आइतबार पूर्वका चार विमानस्थल बन्द भए । सोमबार २८ उडान रद्द भएको विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चूडालले जानकारी दिए ।
त्यस्तै मंगलबार पनि अवस्था उस्तै रह्यो । दुई दिन उडानै नभएको विराटनगरमा बुद्धका ४ र यतीका ३ तथा भद्रपुर बुद्धका २ र यतीका ४ उडान भने भए । मंगलबार भैरहवा, सिमरा, जनकपुर र तुम्लिङटारमा उडान हुन सकेन ।
यस दिन बुद्धका विराटनगर ३, भद्रपुर १, जनकपुर २, तुम्लिङटार १, सिमरा ५, भैरहवा २ र नेपालगन्ज १ उडान रद्द भए । त्यस्तै यतीको विराटनगर र भद्रपुर १/१, जनकपुर २, तुम्लिङटार, भैरहवा र नेपालगन्ज १/१ उडान रद्द भएका छन् ।
ताराका फाप्लु १ र लुक्ला ५ उडान हुन सकेनन् । लुक्लाका लागि दैनिक ३० देखि ४० उडान हुने गर्छन् । काठमाडौंको मौसम सफा भएपनि पूर्वी क्षेत्रका विमानस्थलमा उडान हुन सक्ने भिजिबिलिटी अभावका कारण यस्तो समस्या आएको हो ।
पश्चिम धनगढीमा भने नियमित उडान भएको चुडालले जानकारी दिए । त्यस्तै पोखरा उडानमा पनि कुनै समस्या भएन ।