काठमाडौ, मंसिर २६ -
विद्युत् प्राधिकरणले हिउँदमा नदीमा पानीको सतह घट्दै गएका बेला लोडसेडिङ बढ्न नदिन विराटनगर र हेटौंडास्थित थर्मल प्लान्ट -तापीय विद्युत् केन्द्र) मंगलबारदेखि सञ्चालन गरी २५ मेगावाट बिजुली उत्पादन थालेको छ ।
विश्व बैंकको सहयोगमा दुई वर्ष लगाएर हालै मर्मत सम्पन्न गरिएका दुई तापीय केन्द्रमध्ये मंगलबारदेखि विराटनगर मल्टिफ्युल प्लान्टबाट १५ र हेटौंडा थर्मल प्लान्टबाट १० मेगावाटका दरले बिजुली उत्पादन गर्न थालिएको जानकारी विद्युत् प्राधिकरणका अधिकारीले दिए ।
ती अधिकारीका अनुसार प्राधिकरणले पहिलो चरणमा ती दुई तापीय विद्युत् केन्द्रबाट एक महिनासम्म उत्पादन गरिने विद्युत्को कार्यतालिका बनाएको छ । कार्यतालिकाअनुसार विराटनगरस्थित प्लान्टबाट मंगलबारदेखि पुस १० सम्म दैनिक ६ घन्टा १५ मेगावाट र हटौंडास्थित थर्मल प्लान्टबाट दैनिक ८ घन्टा १० मेगावाटका दरले विद्युत् उत्पादन गरिने छ ।
पुस ११ देखि पुस २५ सम्म विराटनगरस्थित थर्मल प्लान्टबाट दैनिक १२ घन्टा १५ मेगावाट र हेटौंडास्थित थर्मल प्लान्टबाट दैनिक १६ घन्टा १० मेगावाटका दरले विद्युत् उत्पादन गरिने छ । पुस २५ पछि लोडसेडिङको समय बढ्ने भएकाले ती दुई प्लान्टबाट अझ बढी क्षमतामा विद्युत् उत्पादन गरिने जानकारी प्राधिकरणका अधिकारीले दिए ।
विराटनगरको मल्टिफ्युल प्लान्ट ३९ र हेटौंडाको थर्मल प्लान्ट १५.४ मेगावाट क्षमताका तापीय विद्युत् उत्पादन केन्द्र हुन् । तर विराटनगरको प्लान्टको पूर्ण मर्मत हुन बाँकी छ । विराटनगरको पुरानो प्लान्ट भएकाले अझै केही उपकरण फेर्न बाँकी छ । मर्मतपछि विराटनगरको थर्मल प्लान्टको विद्युत् उत्पादन क्षमतासमेत बढ्ने छ । जडित क्षमता ५४.५ मेगावाट भए पनि दुई तापीय विद्युत् उत्पादन केन्द्रबाट बढीमा ३६ मेगावाटसम्म मात्र विद्युत् उत्पादन गर्न सकिन्छ । तापीय केन्द्रबाट उत्पादित बिजुलीको मूल्य प्रतियुनिट ३५ रुपैयाँको हाराहारीमा पर्छ । ती दुई तापीय केन्द्रबाट २५ मेगावाटका दरले विद्युत् उत्पादन गर्दा प्राधिकरणलाई एक महिनामा करिब २१ करोड रुपैयाँ घाटा पर्ने छ ।
प्राधिकरणले मंगलबारदेखि दुई तापीय केन्द्रबाट एक महिनासम्म २५ मेगावाट विद्युत् उत्पादन गर्दा आफूलाई घाटा हुने २० करोड ४३ रुपैयाँ अनुदानस्वरूप उपलब्ध गराउन ऊर्जा मन्त्रालयमार्फत सरकारसित माग गरेको छ । ऊर्जाले सिफारिस गरेपछि अर्थ मन्त्रालयले उक्त रकम प्राधिकरणलाई उपलब्ध गराउने जानकारी सरकारी अधिकारीले दिए ।
नदीमा पानीको सतह घट्दै गएका कारण विद्युत् उत्पादन घट्दै जाने भएकाले मंसिरमा दैनिक १० घन्टा हुँदै आएको लोडसेडिङ बढेर पुसमा दैनिक १५ घन्टा, माघ, फागुन र चैतमा १७/१७ घन्टा र वैशाखमा १६ घन्टा हुने अनुमान प्राधिकरणको छ ।
विद्युत् प्राधिकरणको आर्थिक विभागका नायब महाप्रबन्धक लव घिमिरेले तापीय विद्युत् केन्द्रबाट बिजुली उत्पादन गर्दा लोडसेडिङ खासै नघट्ने तर बढ्न भने नदिने जानकारी दिए । उनले तापीय विद्युत् केन्द्र चलाएर कुलेखानी जलाशययुक्तको पानी अझ बढी लोडसेडिङ हुने समयका लागि चलाउन बचत गर्ने कार्ययोजनासमेत प्राधिकरणले बनाएको बताए ।
उनले विराटनगर मल्टिफ्युल थर्मल प्लान्ट र हेटौंडा थर्मल प्लान्ट सञ्चालन गर्न २ करोड रुपैयाँको इन्धन खरिद गरी ल्याइसकिएको र त्यसले एक सातासम्म विद्युत् उत्पादन गर्न पुग्ने जानकारी दिए । त्यसपछि सरकारले दिने अनुदानबाट इन्धन ल्याएर ती तापीय केन्द्रबाट विद्युत् उत्पादन गरिने छ । विराटनगरको मल्टिफ्युल प्लान्ट फर्निस आयल र हेटौंडाको थर्मल प्लान्ट डिजेलबाट सञ्चालित हुने तापीय विद्युत् केन्द्र हुन् ।
प्रकाशित मिति: २०६९ मंसिर २७ ०८:५९
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?