काठमाडौ, मंसिर २६ -
एमाओवादीले संविधानसभाको निर्वाचन हुने सुनिश्चित भए 'हदैसम्मको लचकता' अपनाउने निर्णय गरेको छ । मुलुक राजनीतिक संकटमा फस्दै गएको महसुस गर्दै उसले राजनीतिक निकासका लागि सरकारलगायत विषयमा लचकता अपनाउने निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा मंगलबार अपराह्न बसेको केन्द्रीय पदाधिकारी बैठकमा नेताहरूले मुलुकको राजनीतिक संकटको फाइदा प्रतिगामीको हातमा जान सक्ने खतरा रहेको निष्कर्ष निकाल्दै जति सक्यो छिटो सहमति खोज्नुपर्ने बताए । बैठकमा सहभागी स्थायी समिति सदस्य गिरिराजमणि पोख्रेलले वैशाखमा निर्वाचन हुने सुनिश्चित भए पार्टीले लचकता अपनाउने निर्णय भएको बताए । 'वैशाखमा चुनाव हुने सुनिश्चित भएमा लचकतासाथ अघि बढ्ने निर्णय भएको छ,' उनले भने, 'सहमति भए प्रधानमन्त्रीले छाड्न तयार रहेको बताइसक्नुभएको छ ।' बैठकले दाहाल, प्रधानमन्त्री एवं उपाध्यक्ष बाबुराम भट्टराई, उपाध्यक्ष एवं उप तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सचिव पोस्टबहादुर बोगटीलाई राजनीतिक सहमति खोज्ने औपचारिक जिम्मेवारी दिएको छ । पदाधिकारीलाई सहमति खोज्ने जिम्मा लिनुको अर्थ लचकता अपनाएर भए पनि निकास निकाल्ने रहेको एक नेताले बताए । 'कांग्रेस संविधान र आगामी निर्वाचनका विषयमा लचक हुने र एमाओवादी सरकारका विषयमा लचक भएर सहमति खोज्ने प्रयास भइरहेको छ,' ती नेताले भने । पदाधिकारी बैठकपछि परराष्ट्रमन्त्रीसमेत रहेका उपाध्यक्ष श्रेष्ठले वैशाखमै निर्वाचन गर्ने गरी लचकताका साथ वार्तामा सहभागी हुने निर्णय भएको बताए । 'अझ बढी जिम्मेवारीका साथ वार्तामा छलफल गर्ने निर्णय भएको छ,' उनको भनाइ थियो । अध्यक्ष दाहालले मंगलबार बिहान कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलासँग कुराकानी गरेका थिए । 'अब दुवै पार्टी अडानमा रहेर समाधान निस्कँदैन भन्ने महसुस भएको छ,' दाहाल निकट स्रोतले भन्यो । कांग्रेस वैशाखमा निर्वाचन गर्न प्रतिबद्ध भइसकेकाले उसले विघटित संविधानसभामा भएका सहमतिलाई स्वामित्व लिन सकारात्मक हुनुपर्ने एमाओवादीको अडान छ । त्यस्तै एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग दाहालले यसै अडानमा केन्दि्रत भएर पटक-पटक अनौपचारिक कुराकानी गरिसकेका छन् । माओवादी-कांग्रेस, कांग्रेस-मधेसवादी दलहरूबीच मंगलबार पनि छलफल भएको थियो । औपचारिक रूपमा वार्तामा बस्दा आ-आफ्नो अडानमा मात्रै रहने भएकाले सहमतिमा पुग्न सजिलो होस् भनेर अनौपचारिक छलफल थालिएको हो । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले दुई पक्षीय रूपमा दलहरूबीच अनौपचारिक तहमा छलफल भइरहेको बताए । 'माओवादी, मधेसी मोर्चाका नेताहरूसँग अनौपचारिक छलफल भइरहेको छ,' उनले भने ।