काठमाडौ, मंसिर २६ -
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झाप्पड हिर्काएका पदम कुँवर मंगलबार जेलमुक्त भएका छन् । अध्यक्ष दहालका तर्फबाट उनका सहयोगी शिव खकुरेलले २८ हजार धरौटी प्रशासनलाई बुझाएपछि उनी जेल मुक्त भएका हुन ।
गत मंसिर १ गते एमाओवादीले भृकुटीमण्डपमा गरेको चियापानमा अध्यक्ष दाहाललाई झाप्पड हानेका कुँवरलाई सोमबार काठमाडौं प्रशासन कार्यालयले सार्वजनिक स्थानमा खलल पुर्याएको अभियोगमा २८ हजार धरौटी तोकेको थियो । धरौटी तिर्न नसकेपछी सोमबारै उनलाई केन्द्रीय कारागार पठाइएको थियो । काठमाडौं प्रशासनका अनुसार मंगलबार बिहानै खकुरेलले धरौटी बुझाएपछि प्रहरीले कुँवरलाई उनका भिनाजु भीम भारतीको जिम्मा लगाएको थियो । उनलाई ७ दिनको तारेखमा छाडिएको प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माले जानकारी दिए । उनको अन्तिम फैसला हुन बाँकी छ । केन्द्रीय कारागारमा अभिलेख राखिसकेपछि प्रहरीले कुँवरलाई हनुमानढोका पुर्याई भारतीको जिम्मा लगाएको थियो । कुँवरको मुद्दा किनारा लागेपछि उनलाई कुट्नेविरुद्ध पनि उजुरी दिने भारतीले बताए ।