नयाँदिल्ली, मंसिर २६ -
भारतले कान्तिपुर टीभीसहितका विभिन्न विदेशी टेलिभिजन च्यानलमाथि प्रतिबन्ध लगाउने आफ्नो कुनै मनसाय नभएको प्रस्ट पारेको छ । यद्यपि ती च्यानलले भारतमा डाउनलिंकिङका लागि अनुमति नमागेकाले तिनको प्रसारण भारतीय नियमअनुसार गैरकानुनी हुने उसले उल्लेख गरेको छ । भारतविरोधी सामग्री प्रसारण गरेको तथा अवैध रूपमा डाउनलिंकिङ गरिएको भन्दै कान्तिपुर टीभीसहित दुई दर्जन विदेशी टेलिभिजन च्यानलको प्रसारणमा रोक लगाउने तयारीमा नयाँदिल्ली रहेको खबर यहाँका सञ्चारमाध्यममा आइरहेका बेला उक्त सरकारी धारणा सार्वजनिक भएको हो । कुनै सञ्चार स्याटेलाइट अर्थात् भूउपग्रहबाट पृथ्वीस्थित केन्द्रमा डाटा तथा अन्य तरंग प्रसारण गर्ने प्रक्रिया डाउनलिंकिंग हो ।
'भारतीय कानुनअनुसार, टीभी च्यानलको डाउनलिंकिङका लागि अनुमति लिनुपर्छ । त्यसैले त्यस्तो अनुमति नलिएका विदेशी च्यानल सैद्धान्तिक र प्राविधिक रूपमा स्वतः भारतीय कानुनविपरीत हुन जान्नु' मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्त सइद अक्बरुद्धिनले भने । भारतीय विदेश मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ९० भन्दा बढी विदेशी टीभी च्यानलले मात्रै भारतमा डाउनलिंकिङका लागि अनुमति लिएका छन् ।
पत्रकार सम्मेलनका क्रममा अक्बरुद्धिनले घुमाउरो पारामा, ती २४ वटा टीभी च्यानलको सूचीमा परेका कान्तिपुर र नेपाली टेलिभिजनले भारतविरोधी सामग्री प्रसारण नगरेको उल्लेखसमेत गरे । '२४ मध्ये केहीले भारतविरोधी सामग्री प्रसारण गरेको हाम्रा गुप्तचर निकायहरूको बुझाइ छ । यद्यपि कुन- कुन च्यानलले त्यस्ता गतिविधि गरेको भन्ने उनीहरूले प्रस्ट पारेका छैन' उनले भने, 'त्यसैले यो सूचनाका आधारमा कुनै एक टेलिभिजन च्यानलप्रति उक्त विषय लक्षित छ भनेर बुझ्नु सही हुँदैन ।'
२४ टीभीको सूचीमा पाकिस्तानका मात्रै एक दर्जनभन्दा बढी च्यानल छन् । नेपालका कान्तिपुर र नेपाल टेलिभिजनका अतिरिक्त मालदिभ्स, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, भुटान र बंगलादेशका एक-एक टीभी च्यानल त्यस सूचीमा छन् । स्रोतहरूका अनुसार भारतविरोधी सामग्री प्रसारण गरेको भन्ने सूचीमा पाकिस्तानी च्यानलहरू छन् । यद्यपि अक्बरुद्धिनले कुनै पनि टेलिभिजन च्यानललाई निशाना बनाउने भारतको मनसाय नरहेको बताए । 'कुन च्यानल भारतविरोधी छ भनेर इंगित गर्ने हाम्रो मनसाय होइन । मूलभूत विषय त ती च्यानलले डाउनलिंकिङका लागि भारतीय नियम पालना नगरेको भन्ने हो,' उनले भने ।
प्रकाशित मिति: २०६९ मंसिर २७ ०८:५२
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !