Kantipur

Kantipur

मिति | २०७१ वैशाख ११, बिहीवार     Login | Register
मुख्य समाचार»

तालिमबाट बाहिरिन खोज्दै पूर्वलडाकु

काठमाडौ, मंसिर २६ -
समायोजन रोजी भर्ना, छनोट परीक्षा उत्तीर्ण गरेर नेपाली सेनाको तालिममा सहभागी ३० भन्दा बढी पूर्वलडाकुले बाहिरिने इच्छा व्यक्त गरेका छन् । समायोजनपछि पाउने पद तय नभएको, स्वास्थ्य बिग्रेको र अन्य घरायसी कारण देखाउँदै स्वैच्छिक अवकाशमा जान पाउँ भन्दै निवेदन दिनेको संख्या बढ्दो छ । भर्ना, छनोट उत्तीर्ण ७१ अधिकृतसहित एक हजार चार सय ४२ लडाकुलाई मंसिर १० गतेदेखि सेनाले तालिममा पठाएको थियो । माओवादी सेनाको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समिति सचिवालयका अनुसार बाहिरिन चाहने लडाकुले स्वैच्छिक अवकाशको प्याकेज उपलब्ध गराइदिन आग्रह गरेका हुन् । 'स्वास्थ्यलगायत विभिन्न कारण देखाएर बाहिरिन चाहेको मौखिक जानकारी आएको छ । यसअघिको विशेष समितिले सेनाको तालिममा छिर्नुअघिसम्म अन्य विकल्प रोज्न दिने निर्णय गरेको थियो । तालिममै गइसकेको अवस्थामा सैनिक ऐन आकषिर्त हुने भएकाले विशेष समिति बसेर निर्णय लिनु उचित हुन्छ,' सचिवालय संयोजक बालानन्द शर्माले भने ।

बाहिरिन चाहने सबै पूर्वलडाकु अधिकृतभन्दा मुनिको पदमा समायोजनको प्रक्रियामा सहभागी रहेको सचिवालयले जनाएको छ । स्वैच्छिक अवकाशमा जाने पूर्वलडाकुले पदअनुसार ५ देखि ८ लाखसम्म पाएका छन् । तर समितिले भर्ना, छनोट उत्तीर्ण गरे पनि सेनाको तालिममा छिर्नुअघिसम्म मात्र विकल्प रोज्न दिने निर्णय गरेको थियो । सैनिक प्रवक्ता सहायकरथी सुरेश शर्माले पनि तालिममा समावेश भइसकेपछि सैनिक ऐन आकषिर्त हुने बताएका थिए । सैनिक ऐनअनुसार तालिमका क्रममा भागे भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी बर्खास्त गर्नेसम्मको कारबाही हुन्छ । यद्यपि विशेष परिस्थिति भएकाले पछिल्लो प्रकरणलाई कसरी सम्बोधन गर्ने भन्नेमा सेना तथा सरोकारवाला छलफलमा छन् । तालिममा सहभागी भएलगत्तैदेखि लडाकुले बाहिरिने इच्छा जनाएको स्रोतले बतायो । बाहिरिन चाहने लडाकु दिनहुँ बढिरहेकाले केहीलाई सुविधा दिँदा सबै बाहिरिन चाहे के गर्ने भन्ने अन्योल छ । सैनिक प्रवक्ता शर्माले कतिको निवेदन आइसकेको र कतिको आउने क्रममा रहेकाले कति जनाले तालिम छाड्न चाहेका हुन् भन्ने संख्या यकिन भइनसकेको बताए । आएका निवेदनहरूमाथि छानबिन गर्न एक समिति बनाइएको छ । 'तालिम छाड्न चाहनुको कारणबारे समितिले छानबिन गर्छ । त्यसको आधारमा निर्णय लिइन्छ,' प्रवक्ता शर्माले भने । गम्भीर शारीरिक तथा पारिवारिक कारणले तालिममा सहभागी हुन नचाहनेलाई आवश्यक प्रक्रिया पुर्‍याएर छाड्ने व्यवस्था सैनिक ऐनमा भएको स्रोतले बतायो । सेनाले तालिमबाट छाडे पनि उनीहरूलाई अर्को विकल्प रोज्न दिने/नदिनेबारे विशेष समितिले निर्णय गर्नुपर्छ । पछिल्लो पटक एक महिनाका लागि थपिएको विशेष समितिको समय मंसिर मसान्तमा सकिँदै छ । समितिसँगै सचिवालयको पनि समय सकिने भएकाले यसका पदाधिकारीहरू आफ्नो जिम्मेवारीभित्रको काम गरिरहेका छन् । सचिवालयले अवकाश रोजेका करिब ५० जनालाई मात्र दोस्रो किस्ताबापतको रकम दिन बाँकी छ । सचिवालय संयोजक शर्मालगायत पदाधिकारी मुख्य काम सकिएकाले बाँकी काम शान्ति मन्त्रालयको जिम्मा लगाएर बाहिरिने सोचमा छन् । 'मुख्य काम सकिएकाले म्याद बढाइदिन भन्न भएन । हामी बाँकी रहेका छुटपुट काम सम्पन्न गरिसक्ने योजनामा छौं,' उनले भने, 'बाँकी सरकारले जे निर्णय गर्छ, त्यसमा भर पर्छ ।' समायोजन रोजेका लडाकु सेनाको तालिममा छिरेको र अवकाशमा जाने अधिकांशले रकम बुझिसकेकाले सचिवालयको मूलभूत काम सकिइसकेको छ । पछिल्लो समय सेनाको तालिममा गएकाहरूले बाहिरिन निवेदन दिएको अवस्थामा सेनाका तर्फबाट त्यस्ता विषयमा मध्यस्थताको काम गर्न सानो कुनै निकाय रँूदा राम्रो हुने धारणा आइरहेको सचिवालय सदस्य दीपकप्रकाश भट्टले जनाए ।

प्रकाशित मिति: २०६९ मंसिर २७ ०८:५०

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper paper - Kantipur Daily 2014-4-23
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

धन्न आपूर्ति सहज भ' र'छ !... दिनभरि लाइन बसेर अलिकति भे नि पाइयो !

विज्ञापन

Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication