Kantipur

Kantipur

मिति | २०७१ वैशाख ११, बिहीवार     Login | Register
मुख्य समाचार»

पैसावालको हिरासत अस्पताल १

काठमाडौ, मंसिर २० -
सरकारी कागजात किर्ते अभियोगमा पक्राउ परेका त्रिवेणी गु्रपका कार्यकारी निर्देशक उद्योगपति गोविन्दलाल संघाई 'हृदयघात' भएको भन्दै नर्भिक अस्पताल भर्ना भएका छन् । सरकारी ठेक्कामा नक्कली कागज पेस गरेको पुष्टि भएपछि केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार उनलाई पक्राउ गरेको थियो । पक्राउपछि ब्युरोको महाराजगन्ज कार्यालय हुँदै काठमाडौं प्रहरी परिसरको हिरासतमा पठाइएका संघाईले 'मुटु दुखेको' बताएपछि राति वीर अस्पताल लगिएको थियो । वीरबाट राति नै महाराजगन्जस्थित गंगालाल अस्पताल पुगेका उनी बुधबार फेरि सुविधासम्पन्न नर्भिक अस्पतालमा भर्ना भए । अपराध गरेर पक्राउ पर्नेबित्तिकै अस्पताल जाने संघाई पहिलो व्यक्ति होइनन् । 'पैसा र पहुँच' भएकाहरू बिरामीको बहाना बनाउँदै यसअघि पनि अस्पताल गएका थिए । फूलबारी रिसोर्ट पोखराका सञ्चालक पियूष अमात्य र एप्को इन्टरनेसनलकी विनिता प्रधानले पनि त्यसै गरेका थिए भने अनमोल स्विट्सका सञ्चालक बीएल शर्मा त अस्पतालबाटै पक्राउ नगर्ने आदेश लिन सफल भएका थिए ।

नेपाल र भारतका व्यापारीलाई समेत ठगी गरेको अभियोगमा इन्टरपोलबाट रेडकर्नर नोटिस जारी भएपछि एप्को इन्टरनेसनल र कस्मिक एयरकी निर्देशक प्रधानलाई थाइल्यान्ड प्रहरीले २०६८ पुसमा पक्राउ गरेर नेपाल बुझाएको थियो । केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थलबाट नियन्त्रणमा लिएपछि उनलाई काठमाडौं प्रहरीको थुनुवा कक्षमा पुर्‍याउनेबित्तिकै छाती र मुटु दुखेको बहानामा अस्पताल भर्ना गरिएको थियो । उनी १५ दिनजति अस्पताल बसेकी थिइन् ।  

यस्तै करोडौं रुपैयाँ ठगीको अभियोग लागेका फूलबारी रिसोर्टका मालिक अमात्य पनि बिरामी परेको भन्दै अस्पताल भर्ना भएका थिए । अमात्यले विभिन्न व्यक्तिलाई जागिर दिने भन्दै ४ करोडभन्दा बढी रुपैयाँ ठगी गरेको अभियोग थियो । उनी नर्भिक अस्पतालमा १८ दिन बसेका थिए । त्यस्तै अनमोल स्विट्सका सञ्चालक शर्मा मिठाईमा अखाद्य पदार्थ मिसावटको आरोपमा समातिने भएपछि तत्कालै नर्भिकमा भर्ना भएका थिए । खाद्य पदार्थमा 'जनावरको बोसो' मिसाएको अभियोगमा पक्राउ परेका शर्माले नर्भिकमा भर्ना भएरै कानुनी सहायता लिएका थिए । अदालतले उनलाई पक्राउ नगर्न आदेश दिएको थियो । त्यसैको सिको गर्दै अहिले संघाई पनि अस्पताल भर्ना भएको स्रोतको दाबी छ । उनी बुधबारदेखि नर्भिकको आईसीयूमा भर्ना भएका छन् ।

अस्पताल स्रोतका अनुसार संघाईलाई केही भएको छैन । 'जाँचका क्रममा समस्या देखिएन, उहाँले मुटु दुख्यो भनेपछि अस्पताल भर्ना गरिदिएको हो,' स्रोतले भन्यो, 'बिरामीले सञ्चो छैन भनेपछि हामीले जोखिम मोलेर ठीक छ भन्न सक्तैनौं ।' नर्भिकको आईसीयूमा भर्ना भएपछि एक रातको ५ देखि ८ हजार रुपैयाँसम्म खर्च हुने गर्छ । त्यो खर्च बिरामी स्वयंले बेहोर्नु पर्छ ।

उनी अस्पताल भर्ना भएपछि अनुसन्धान प्रक्रियासमेत रोकिएको छ । बुधबार जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको थियो । नर्भिकले ठीक भएको बताएपछि उनलाई म्याद थपेर अनुसन्धान गरिने ब्युरोले जनाएको छ । आईसीयूको बाहिरपट्ट िपनि प्रहरी तैनाथ गरिएको छ । प्रहरीको हिरासतमा बस्नबाट बच्नका लागि धेरैजसो 'ठूला' ले अस्पताल रोज्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । अस्पतालले डिस्चार्ज नगरेको अवस्थामा वा बिरामी डिस्चार्ज हुन नचाहेको अवस्थामा अस्पतालबाटै मुद्दा अदालतमा पुग्नेछ । मुद्दा अदालत पुगेपछि धेरैजसो धरौटीमा रिहा हुने गर्छन् ।

'साँघुरो, गन्ध आउने, सुत्ने ठाउँ नभएको हिरासतभन्दा सुविधासम्पन्न अस्पतालमा पैसा तिरेर बस्न तयार हुन्छन्,' एक प्रहरीले भने, 'अस्पतालका स्विट्स रूममा त्यस्ता बिरामी राखेर पैसा लिने गरिन्छ ।' नर्भिक अस्पतालमा केही समयअघि मात्रै ११ वटा प्राइभेट क्याबिन बनाइएको थियो । त्यसमा फाइभस्टार होटल सरहको सेवासुविधा उपलब्ध छन् । त्यस्ता क्याबिनमा एलसिडी टिभी, रेपि|mजेनेरेटर, तातो चिसो पानी आउने सावर र बिरामी कुरुवाका लागि समेत विशेष सुविधा दिइएको छ ।

संघाईले गत असार २९ गते दुग्ध विकास संस्थानको स्याचेट क्रेट खरिदका लागि आह्वान गरेको टेन्डरका साथ पेस गरेको कर चुक्तासम्बन्धी कागज नक्कली भएको प्रमाणित भएको थियो । संस्थानको ९६ लाख ५८ हजार १ सय १० रुपैयाँको उक्त टेन्डर हासिल गर्न संघाईले हस्ताक्षर गरेर पेस गरेको कागज नक्कली थियो । आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय नयाँसडक न्युरोडबाट जारी भएको भनिएका कागजहरू नक्कली प्रमाणित भएका छन् । ती कार्यालयको लेटरप्याडमा उल्लेख भएका चलानी नम्बरका कागजपत्रमा फरक/फरक मिति र विषयमा अन्य कार्यालयमा पत्राचार गरिएको भेटिएको थियो ।

संघाई सञ्चालक रहेको त्रिवेणी स्पिनिङ मिललाई विद्युत् प्राधिकरणले विद्युत् चोरी गरेको प्रमाणित भएपछि ६ करोड १७ लाख रुपैयाँ जरिवाना गरेको थियो । कम्पनीले अहिले उक्त रकम किस्ताबन्दीमा चुक्ता गरिरहेको छ । यस्तै त्रिवेणी समूहकै विश्वकर्मा सिमेन्टलाई भ्याटको नक्कली बिल प्रयोग गरेको भेटेपछि आन्तरिक राजस्व विभागले कारबाही गरेको थियो । विभागको कारबाहीलाई राजस्व न्यायाधिकरणले सदर गरिसकेको छ ।

प्रकाशित मिति: २०६९ मंसिर २१ ०८:२३

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper paper - Kantipur Daily 2014-4-23
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

धन्न आपूर्ति सहज भ' र'छ !... दिनभरि लाइन बसेर अलिकति भे नि पाइयो !

विज्ञापन

Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication