मुख्य समाचार»
शोभराजको जन्मकैद सदर
काठमाडौ, श्रावण १४ -
धेरैले उनीहरूको सम्बन्धमा शंका गर्छन् । सायदै कसैले पत्याउँछ । उमेरले हजुरबासरहको बूढो, उतिमाथि कुख्यात अपराधीको अभियोग लागेको र जेलमा परेको परदेशीसँग भर्खरकी युवतीले प्रेम गर्ली, उसको नाममा सिन्दूर हाल्ली र उनलाई जेलमुक्त गराउन अदालतमा आंैला ठड्याउँदै उभिएली भन्ने कुरा सिनेमामा देखाए पनि काल्पनिक लाग्न सक्छ । तर ६६ वर्षे प|mान्सेली चाल्र्स शोभराज गुरुमुखसँगको आफ्नो सम्बन्ध २२ वर्षे नेपाली निहिता विश्वासलाई कत्ति पनि जाली र अनौठो लाग्दैन ।
'ऊ मेरो प्रेमी होइन, पति नै हो,' सर्वाेच्च अदालतमा शोभराजको रिहाइको कामनाका साथ शुक्रबार बिहानैदेखि फैसलाको प्रतीक्षामा बसेकी निहिता भन्दै थिइन्,
'म उसैका लागि हुँ ।' प्रमाणमा उनले हातमा लगाएको दुई हरिया चुरा र कपालले छोप्ने गरी हालेको सिन्दूर देखाइन् ।
'यो उसैको नाममा हो बुझ्नु
भो ?' उनीजस्ता धेरै युवतीको हत्याका अभियुक्त चाल्र्सको नाम लिँदै उनले भनिन्, 'ईश्वरसँग कामना गर्छु, ऊ छुटोस् ।'
दिनभर उज्यालो अनुहारमा अदालत कुरेकी निहिता अपराह्न न्यायाधीशद्वय रामकुमारप्रसाद साह र गौरी ढकालको फैसला सुनेपछि रुन मात्रै सकिनन् । फैसलाअनुसार शोभराज सर्वस्वसहित जन्मकैद परेका छन् । सात वर्ष जेलमा बिताइसकेका उनले निहितासँग गृहस्थी गर्न अझै १३ वर्ष पर्खनुपर्ने छ । त्यतिन्जेल निहिताको धैर्यले काम गर्ला ?
'अदालतले अन्याय गर्यो,' माहुरीको गोलोझैं राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारकर्मीबाट घेरिएकी निहिताले नाराबाजीको शैलीमा भनिन्, 'हामी जेनेभास्थित अन्तर्राष्ट्रिय अदालत जान्छौं, म जीवनभर उसको मुक्तिका लागि लड्छु ।' अमेरिकी युवती कोन्निजो ब्रोन्जीको २०३२ पुस ८ मा हत्या हुँदा निहिता जन्मेकै थिइनन् । त्यही हत्याको अभियोगमा जिल्ला अदालत काठमाडौं र पुनरावेदन अदातल पाटनले यसअघि गरेका फैसलालाई शुक्रबार सर्वोच्चले पनि सदर गर्यो । ब्रोन्जीको हत्या गरी मनहरामा शव फालेको अभियोग लागेका चाल्र्समाथि त्यसको दुई दिनअघि क्यानडाका लरेन्ट आरमेन्ट क्यारिरलाई पनि त्यसरी नै हत्या गरेर फ्याँकेको अभियोग थियो ।
भक्तपुर जिल्ला अदालतमा चलेको लरेन्टको मुद्दामा शोभराजको प्रतिवादी कायम हुन नसकेकाले त्यो मुल्तबीमा पर्यो । ब्रोन्जीको मुद्दामा चाहिँ उनी उम्कन पाएनन् । मुद्दा चल्दाचल्दै उनी भागेपछि निकै वर्ष काठमाडौं जिल्ला अदालतमा उनीविरुद्धको अभियोगपत्र उसै बस्यो । पछि अचानक २०६० असोजमा काठमाडौंमा पत्रकारहरूले देखेलगत्तै प्रहरीले तत्काल उनलाई दरबारमार्गको रोयल क्यासिनोबाट पक्राउ गरेको थियो । पक्राउ परेपछि अदालतमा रोकिएको मुद्दा फेरि चलाइयो । तिनताक निहिता स्कुले विद्यार्थी थिइन् । शोभराजको नाम, काम र अवस्था उनले आफ्नी अधिवक्ता आमा सकुन्तला थापामार्फत पत्तो पाइन् । सकुन्तला उनको पक्षमा बहस गर्थिन् । आमाकै पछि लागेर निहिताले शोभराजलाई केन्द्रीय कारागारमा भेटिन् । दुई वर्षअघि दसैंमा बिहे गरेको भनेर अचानक छापाहरूमा छाइन् । अनौठोजस्तो लाग्ने यो प्रेमकथाकी सूत्राधार सकुन्तला पनि फैसलापछि निकै क्रुद्ध देखिइन् । पहिले ग्राहक र अहिले ज्वाइँ
भएका शोभराजलाई थुन्ने फैसलाको सदर गर्ने न्यायाधीशलाई उनले गाली गरिन् ।
प्रकाशित मिति: २०६७ भाद्र २५ ०९:५३













