मुद्रण संस्करण

२०६७ भाद्र २३, बुधवार भाद्र कृष्णपक्ष चतुर्दशी नेपाल संवत् ११३० मुद्रण संस्करण

मुख्य समाचार»

खनाल-नेपाल संवाद टुट्यो

दुर्गा खनाल

काठमाडौ, श्रावण १४ -
एमालेभित्र प्रधानमन्त्री चयन प्रकरणले शीर्ष नेताको आपसी सम्बन्ध पनि चिसिएको छ । प्रमुख दुई नेता अध्यक्ष झलनाथ खनाल र प्रधानमन्त्री माधवकुमार नेपालको सम्बन्ध सुखद छैन । साउन ५ को पहिलो चुनावपछि उनीहरूबीच राजनीतिक विषयमा छलफल र संवाद भएकै छैन । साउन ७ गते पुष्पलाल स्मृति दिवसका अवसरमा कीर्तिपुरमा आयोजित कार्यक्रममा उनीहरू एउटै मञ्चमा उपस्थित हुँदा सामान्य औपचारिकताबाहेक खासै कुराकानी भएन ।

पार्टीको भ्रातृ संगठन मुस्लिम इत्तेहाद संगठनले शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा खनाललाई प्रमुख अतिथि र नेपाललाई विशिष्ट अतिथिको रूपमा निम्ता गरिएको थियो । खनाल कार्यक्रममा गए पनि प्रधानमन्त्री नेपालले शुभकामना मात्र पठाए । 'पार्टीको बैठक बसेको भए त्यो बेला भेटघाट हुन्थ्यो होला,' एक नेता भन्छन्, 'बैठक पनि नबसेकाले भेटघाट हुने संयोग मिलेन ।'

उनीहरूबीच सम्बन्ध चिसिनुको पछिल्लो कारण हो, प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता । झन्डै दुई तिहाइ बहुमत पुगेको अवस्थामा खनाल उम्मेदवारी फिर्ता लिन नहुने पक्षमा थिए । उनी स्थायी कमिटीको बैठक बसेर ४ सय १ को समर्थन नभएको अवस्थामा उम्मेदवारी नदिने भन्ने निर्णय परिमार्जनको पक्षमा थिए । उम्मेदवारी दिएको अवस्थामा बैठक हलबाट अपुग मत आउने उनको

अनुमान थियो ।

माओवादीको सर्तयुक्त पत्र र ४ सय १ को स्पष्ट समर्थन नहुन्जेल उम्मेदवारी दिन नहुने अडान नेपाल पक्षबाट आयो । यही

अडानका कारण पार्टीले दुई तिहाइ मतको सरकारको

नेतृत्व गर्ने अवसर गुमाएको खनाल पक्षको निष्कर्ष छ ।

तर नेपाल भने आफूले बहुमतको सरकारबाट सहमतिका

लागि राजीनामा दिएकाले स्पष्ट आधार नहुन्जेल फेरि सरकारको नेतृत्वमा जान नमिल्ने अडानमै रहे । यो घटनाले दुई नेताको

दूरी बढाउन मलजल गर्‍यो ।

स्थायी समिति सदस्य भरतमोहन अधिकारी भने दुवै नेता राष्ट्रिय सहमतिको पक्षमा उभिएकाले यो विषयमा उनीहरू एक ठाउँमा रहेको दाबी गर्छन् । 'मैले कुरा गर्दा दुवै नेता सहमति कायम गर्नुपर्छ भन्ने पाएको छु,' उनले भने, 'यो विषयमा विमति छैन ।' आफू पार्टी अध्यक्ष र संसदीय दलको नेता हुँदाहँुदै पनि कांग्रेससहितको २२ दलीय गठबन्धनमा नेपाललाई प्रधानमन्त्रीका लागि सघाएको खनालको बुझाइ छ । तर आफूले नेतृत्व गरेको सरकारलाई अध्यक्ष खनालले कहिल्यै सघाएनन् भन्ने बुझाइ नेपालको छ ।

खनालले बहुमतीय सरकारले मुलुकका समस्या समाधान नगर्ने भन्दै सार्वजनिक रूपमै भाषण गर्दै हिँडेपछि नेपालले यसलाई आफ्नो सरकार ढाल्ने प्रपञ्चको रूपमा बुझे ।

सरकार सञ्चालनका लागि पार्टीले खनालको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको थियो । समितिमा नेपाल, महासचिव ईश्वर पोखरेल र सचिव विष्णु पौडेल सदस्य थिए । '१४ महिनासम्म सरकार चल्दा खनालले एक दिन पनि समितिको बैठक गरेनन्,' नेपालनिकट एक नेताले भने, 'सत्तारूढ प्रमुख दलको हैसियतमा अन्य दलहरूसँग सरकार सञ्चालनबारे छलफल पनि गरेनन् ।'

खनाल पक्षीय नेताहरूका अनुसार नेपालले पनि प्रधानमन्त्री भएपछि खनालसँग कहिल्यै छलफल र समन्वयको आवश्यकता महसुस गरेनन् । 'माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसम्मको डेरामा पटक-पटक पुग्न भ्याए,' खनालनिकट नेताले भने, 'सरकारको विषय त परै जाओस् खनाल बिरामी हुँदासमेत उनलाई भेट्न गएनन् ।' 

दुई नेताहरूबीचको सम्बन्धलाई माओवादी र कांग्रेसलाई हेर्ने दृष्टिकोणले समेत प्रभावित पारेको छ । खनाल तुलनात्मक रूपमा माओवादीसँग 'एकता र संघर्ष' को लचिलो नीति राख्नुपर्ने पक्षमा छन् भने नेपाल राजनीतिक रूपमा माओवादी रूपान्तरित नहुन्जेलसम्म सहकार्य र एकता गर्न नहुने पक्षमा छन् । नेपाल कांग्रेससँगको सम्बन्ध र सहकार्य सुदृढ पार्नुपर्ने पक्षमा छन् भने खनालचाहिँ माओवादीसँगको 'वाम गठबन्धन'

मा रुचि राख्छन् । केही दिनअघि खनालले एउटा पुस्तक विमोचन कार्यक्रममा 'वाम एकता' को कुरासमेत उठाएका थिए ।

खनाल र नेपालबीच शीत युद्घ आठौं महाधिवेशनबाट चर्किन थालेको हो । नेपाल आफू सर्वसम्मत रूपमा अध्यक्ष बन्न चाहन्थे तर खनालले चुनाव लड्ने अडान लिए । खनालले आफूलाई छोड्दा अर्का नेता केपी ओलीले पनि समर्थन गर्ने उनको अनुमान थियो । तर खनालले नछोडेपछि नेपाल असन्तुष्ट भए । 

खनाल अध्यक्षमा निर्वाचित भएपछि नेपाल र नेता ओली एक ठाउँमा उभिए । त्यसले गर्दा पोलिटब्युरो सदस्य चयन गर्ने बेलामा खनाल पक्षका नेताहरू हारे । यस घटनमा नेपालले सहयोगको आश्वासन दिएर घोका दिएको रूपमा खनालले बुझे । उनीहरू निकटका अनुसार खनाल र नेपालको सम्बन्ध न त घनिष्ठ थियो न दाउपेचपूर्ण नै । झन्डै साढे तीन दशक एउटै पार्टीमा रहेका उनीहरूबीचको सम्बन्ध औसत थियो ।

२०३२ मा दुवै नेता क्रान्तिकारी कोअर्डिनेसन केन्द्रका संस्थापक थिए । शिक्षक पृष्ठभूमिका खनाल र बैंकको जागिरे पृष्ठभूमिका नेपालभन्दा अघिदेखि सक्रिय राजनीतिमा लागेका थिए । तर खनालभन्दा नेपालको भूमिका लामो समयसम्म प्रभावशाली रह्यो ।

नेपाल २०५० सालमा तत्कालीन महासचिव मदन भण्डारीको हत्यापछि लगातार १५ वर्ष महासचिव बने । नेपाल भण्डारीको हत्याका कारण महासचिवमा आएका थिए । उनी महासचिव हुँदा खनाल विदेश विभाग प्रमुखका रूपमा कार्यरत थिए ।

एमाले लोकपि्रय भएका बेलामा नेपालले नेतृत्व लिने अवसर पाएका थिए । तर खनालले नेतृत्व लिँदा एकताका ठूलो पार्टी भएको एमाले तेस्रो पार्टीको रूपमा सीमित भएको थियो । यो कुरालाई लिएर उनीहरूबीच पार्टीका बैठकमा घोचपेच भइरहन्छ । गत असार २२ को केन्द्रीय कमिटी बैठकमा पनि नेपालले आफ्नो सरकारलाई असहयोग गरी संगठन राम्ररी नचलाएको आरोप खनाललाई लगाए । खनालले '१५ वर्ष पार्टी चलाएर तेस्रो स्थानमा' पुर्‍याएको पनि देखियो' भन्दै जवाफ दिएका थिए ।

दुई नेताबीचको व्यक्तिगत स्वभावले पनि उनीहरूबीच सम्बन्धलाई असर गरेको छ । 'खनाल राजनीतिलाई व्याख्या, विश्लेषण, सिद्घान्त र दर्शनसँग जोडेर बुझ्छन् । नेपाल राजनीतिलाई अंकगणितीय रूपमा बुझ्छन् । पार्टीभित्र नेपाल चाहेको बेलामा दौडधुप, छिटो निर्णय र समन्वय गर्ने क्षमता भएको व्यक्तिका रूपमा चिनिन्छन् । १५ वर्ष महासचिव भएकाले कार्यकर्ता तहमा उनको प्रभाव हटिसकेको छैन । खनाल बढी सैद्धान्तिक भएकाले छिटो निर्णय गर्न नसक्ने र अरूसँग कमै सम्पर्कमा रहन्छन् । उनको व्यक्तिगत स्वभाव रुखो छैन । खनालको पछाडि पूर्वमाले पृष्ठभूमिका नेताहरू छन् भने नेपाललाई केपी ओली समूहको समर्थन छ ।


प्रकाशित मिति: २०६७ भाद्र २३ ०९:५३

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा