मुद्रण संस्करण

२०६७ भाद्र २३, बुधवार भाद्र कृष्णपक्ष चतुर्दशी नेपाल संवत् ११३० मुद्रण संस्करण

मुख्य समाचार»

चक्र्योे अन्तरकलह

  • दाहाल-भट्टराई सम्बन्ध औपचारिक मात्र
गंगा बीसी

काठमाडौ, श्रावण १४ -
माओवादी अध्यक्ष पुष्पकमल दाहाल अन्य दलहरूसँग प्रधानमन्त्री चुनावमा आफूलाई सघाउन अनुनय गरिरहँदा उपाध्यक्ष बाबुराम भट्टराई राजधानीनजिक ककनीको एक निजी घरमा बसेर पुस्तक पढिरहेका थिए । उनले त्यहाँ दुई पुस्तक पढे, 'लिडरसिप सेक्रेट अफ गेङघस खान' र 'ह्वाट इज माओइज्म एन्ड एस्से ।'

पहिलो पुस्तकको सार कुनै पनि नेताले ऐतिहासिक आवश्यकता बहन गर्न सक्नुपर्छ भन्ने हो भने दोस्रो पुस्तक नेपाल र भारतका माओवादीसम्बन्धी निबन्ध र अन्तर्वार्ताको सँगालो हो । संयोगै मान्नुपर्छ, नेपालमा राजनीतिक किचलो र आगामी सरकारको नेतृत्वबारे प्रश्न उठिरहेका बेला एक मंगोलियन निरक्षर तानाशाहले देशलाई कसरी शक्तिशाली बनाए र साम्राज्य फैलाए भन्ने पुस्तक भट्टराईले छाने । 'खान पुस्तकमा नेताले ऐतिहासिक आवश्यकता पूर्ति गर्न सक्नुपर्छ भन्ने सार छ,' उनले कान्तिपुरसँग भने, 'हामीले पनि त्यस्तो जिम्मेवारी पूरा गर्न सक्नुपर्छ ।'

भट्टराई सहमतीय सरकारको पक्षमा छन् भने दाहाल बहुमतीय भए पनि आफ्नो नेतृत्वमा सरकार बनाउने पक्षमा कम्मर कसेर लागेका छन् । आफू निर्वाचनमा होमिएका बेला गत शनिबार भट्टराईले 'बहुमतीयभन्दा सहमतीय सरकारमा जोड दिए' पछि दाहालले 'असहयोग' को भावना प्रस्टसँगै बुझे । कुनै बेला सँगसँगै हिँड्ने दाहाल र भट्टराईबीच यतिखेर औपचारिक सम्बन्ध मात्र छ । दाहाल मत जुटाउने अभियानमै व्यस्त छन् भने भट्टराई ककनीबाट बुधबार फर्केका छन् । भट्टराईले भने आफू अध्यक्ष दाहालसँग सल्लाह गरेर ककनी गएको जवाफ दिए । 'म अध्यक्षसँग सल्लाह गरेरै गएको थिएँ,' उनले भने, 'उहाँहरू पनि त्यता जाने योजना थियो, भ्याउनु भएन ।'

भट्टराईले ककनीबाट फर्केकै बेलुका बीबीसी नेपाली सेवासँग अन्तर्वार्ता दिँदै सहमतीय सरकारले मात्र शान्ति र संविधान निष्कर्षमा पुग्ने दोहोर्‍याए । त्यसको चार दिनअघि कान्तिपुरको अन्तर्वार्तामा उनले बहुमतीय खेलमा लाग्न नहुने धारणा राखेका

थिए । 'अझै ३ सय १ को खेलमा होइन, राष्ट्रिय सहमतिको सरकार बनाउन लाग्नुपर्छ,' उनको भनाइ थियो । उनको यो अभिव्यक्ति दाहाललाई 'अपि्रय' लागेपछि दुई नेताबीच सम्बन्ध चिसिएको हो ।

शान्ति प्रक्रियामा आइसकेपछि

'नङ र मासु' जस्तो भएका उनीहरूबीच अचेल भने औपचारिक सम्बन्ध भएको स्रोतले जनाएको छ ।

दाहाल-भट्टराई...

'दुवै नेताबीच सामान्य सम्बन्ध छ,' दाहालनिकट एक पोलिटब्युरो सदस्यले कान्तिपुरसँग भने, 'हार्दिक सम्बन्ध छैन भने पनि हुन्छ ।' दुई नेताबीच सम्बन्ध गाढा बनाउने प्रयास जारी रहेको स्रोतको भनाइ छ ।

 २०६१ कात्तिकमा भट्टराईले अध्यक्ष दाहाललाई सम्बोधन गरी केन्द्रीय कार्यालयमा चारबुँदे फरक मत दर्ज र त्यसको एक महिनापछि मंसिरमा केन्द्रीय समितिमा असहमतिका १३ बुँदा राख्दा उनी कारबाहीमा

परेका थिए । २०६२ असोजमा भएको चुनबाङ बैठकमा कारबाही फिर्ता भएको थियो ।

 प्रधानमन्त्री निर्वाचनमा भट्टराईले आफूलाई सहयोग नगरेको दाहाल पक्षको आरोप छ । तर भट्टराईले उक्त आरोपको खण्डन गरेका छन् । 'अध्यक्षलाई विजयी गराउन प्रत्यक्ष/अप्रत्यक्ष रूपमा खटिरहेको छु' भट्टराईले भने, 'मेरो भनाइ पार्टीको नेतृत्वमा बहुमतीय प्रक्रियाभित्रबाट पनि सहतीय सरकार बनाउन सकिन्छ भन्ने हो ।' उनले दाहाल र आफूबीच 'राम्रो सम्बन्ध' भएको दाबी गरे ।

दाहालनिकट पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले दुई नेताबीच दरार पैदा नभएको दाबी गरे । 'दुई नेताबीच सम्बन्ध ठीकै छ,' उनले भने, 'बाहिर चिसिएको जस्तो देखिएको मात्रै हो, हाल सकारात्मक सम्बन्ध छ ।' स्रोतका अनुसार बिहीबार केन्द्रीय कार्यालयको बैठकपछि दाहाल र भट्टराईबीच छुट्टै गोप्य छलफल भएको थियो । दाहाल-पुत्री रेणुले अरूलाई बढी विश्वास गर्नु बुबाको कमजोरी रहेको बताइन् । 'उहाँको कमजोरी अलि बढी विश्वास गर्नुहुन्छ,' उनको भनाइ छ, 'आँखा चिम्लेर विश्वास गर्नुहुन्छ अनि धोका पाउनुहुन्छ ।' तर दाहालले दुई वरिष्ठ उपाध्यक्षद्वय मोहन वैद्य र भट्टराईलाई कमै विश्वास गरेको पाइन्छ । दुई वर्षअघि दाहाल र वैद्यबीच खरिपाटी बैठकमा सम्बन्ध चिसिएको थियो भने हाल दाहाल-भट्टराईबीच त्यस्तै छ ।

रेणुले बहुमुखी स्वभावका कारण बेला-बेलामा गलत व्याख्या हुने गरेको बताएकी छन् । 'उहाँको यो स्वभावलाई मान्छेले गलत व्याख्या गर्ने मौकाको रूपमा प्रयोग गरेका छन्,' उनले पार्टीभित्रकै अन्य नेतातिर संकेत गर्दै भनिन् ।

 


प्रकाशित मिति: २०६७ भाद्र २३ ०९:५३

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा