मुद्रण संस्करण

२०६७ भाद्र २१, सोमबार भाद्र कृष्णपक्ष त्रयोदशी नेपाल संवत् ११३० मुद्रण संस्करण

अर्थ/वाणिज्य»

सरकारी निर्णयले नेपाली कामदार हषिर्त

कान्तिपुर संवाददाता

दोहा -कतार, श्रावण १२ -
सरकारले इराकमा काम गर्न लगाइएको प्रतिबन्ध हटाएकामा त्यहाँ कार्यरत नेपाली कामदारले खुसी व्यक्त गर्दै रोजगारीलाई व्यवस्थित बनाउन दूतावास स्थापना गर्न आग्रह गरेका छन् ।

 इराकमा गैरकानुनी रूपमा मात्रै कामदार भित्रिँदै आएकामा अब वैधानिक बाटोबाट आउन दिन र कार्यरतलाई व्यवस्थित गर्न नेपाली दूतावास स्थापना गर्नु आवश्यक भएको उनीहरूको भनाइ छ । सरकारले इराकमा कार्यरत नेपालीलाई वैधता दिए पनि नयाँ कामदारका जान खुला भने गरेको छैन । अमेरिकी सेन्ट्रल कमान्डले कामदार प्रतिबन्ध लगाएका देशका नागरिकलाई घर फर्किन २० दिने म्याद दिएपछि सरकारले बुधबार त्यहाँ कार्यरत कामदारका लागि इराकमाथिको प्रतिबन्ध फुकुवा गरेको हो ।

'सरकारले समयमै ठीक निर्णय गरेको छ । हामी रोजगार सुरक्षित भएकामा खुसी भएका छौं,' बग्दादमा एक वर्षदेखि कार्यरत उर्लाबारी मोरङका युवराज घोर्सार्ईले फोनमा कान्तिपुरसँग भने, 'अब दूतावास खोलेर यसलाई व्यवस्थित बनाउनुपर्छ ।' उत्तरी टिक्रिटका कार्यरत कास्की सल्यान-८ का वसन्त गिरीले इराकमा अमेरिकी सेनाको उपस्थिति हुन्जेल सुरक्षित रूपमा काम गर्न वातावरण मिलाउन, भिसा, तलब, आवास, जीवनबिमालगायत सुविधाका लागि पनि सरकारले कूटनीतिक पहल गर्नुपर्ने औंल्याए । अन्तर्राष्ट्रिय र आफ्नै श्रम कानुनअनुसार वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन दूतावास आवश्यक परेको हालै गठित रोजगार बचाउ तदर्थ समितिले जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्डले घर फर्किन सूचना दिएपछि उनीहरूले सरकारलाई दबाब दिन समिति गठन गरेका

थिए । 'अहिले सरकारले छोटो समयमा राम्रो निर्णय गरेको छ । अब यहाँको वस्तुस्थिति बुझेर दूतावासै खोल्नुपर्छ,' समितिका अध्यक्ष देउमान तामाङले कान्तिपुरसँग भने, 'युद्धपछिको इराकमा पुनर्निर्माणको काम धमाधम भएकाले नेपालीका

लागि यो रोजगारीको आकर्षक गन्तव्य हुन सक्छ भन्नेमा हामी विश्वस्त छौं ।'

उनले इराकमा आफ्नो तीन वर्षको अवधिमा कुनै पनि सरकारी प्रतिनिधि आएर यहाँको वस्तुस्थिति नबुझेको आरोप लगाए । इराकमा रोजगाररत नेपालीमध्ये केहीले तलब सुविधालगायतमा समस्या बेहोर्दै आएको उनीहरूको भनाइ

छ । कुनै रोजगारदाता कम्पनीले सम्झौता सकिएपछि घर फिर्ती टिकट नदिने, समयअगावै परियोजना सकिए सुविधा नदिई पठाउन खोज्ने र कबुल गरे अनुसारको सुविधा नदिने गरेको गुनासो छ । 'अन्य देशभन्दा सुविधा आकर्षक छ । कुनै कम्पनीले सम्झौताअनुसारको सुविधा नदिएको गुनासा पनि छन्,' तामाङले भने, 'त्यसैले दूतावास आवश्यक परेको छ ।'

मध्यपूर्वमा पर्ने इराकलाई दक्षिण एसियाको पाकिस्तानस्थित नेपाली दूतावासले हेर्दै आएको छ । पाकिस्तानका लागि आवासीय राजदूत बलबहादुर कुँवर इराक, इरान, टर्की र अफगानिस्तानका लागि समेत गैरआवासीय राजदूत हुन् । २००८ जनवरीदेखि कार्यभार सम्हालेका कुँवरले इराक र अफगानिस्तानमा ओहोदाको प्रमाणपत्र बुझाउन बाँकी छ ।  छिमेकी इरानमा सात महिनाअघि ओहोदाको प्रमाणपत्र बुझाएर फर्केको बेला दोहामा कुराकानी हुँदा उनले अनुकूल समयमा इराक र अफगानिस्तान जाने बताएका

थिए । इराकको छिमेकी देश कुवेतमा ८ महिनादेखि नेपाली दूतावास सञ्चालन हुँदै आएको

छ । कुवेतमा डिसेम्बर ७, २००९ देखि राजदूत मधुवन पौडेलले कार्यभार सम्हालेका छन् । कुवेत र इराकमा नेपाली कामदारको संख्या बराबरी जस्तै छ । मध्यपूर्वको खाडी राष्ट्रमध्ये साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्समा पनि नेपाली दूतावास छन् ।

प्रकाशित मिति: २०६७ भाद्र २१ ०९:१२

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal tickets2nepal Money 2 Nepal Travel USA