२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

पोखरा स्पोर्ट्स अवार्ड : अर्जुन र सुस्मिता बने वर्ष खेलाडी

दीपक परियार

पोखरा — आठौं पोखरा स्पोर्ट्स अवार्डमा पुरुषतर्फ क्रिकेटका अर्जुन कुमाल र महिलातर्फ आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगर वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा विभिन्न ७ विधामा अवार्ड प्रदान गरेको हो । 

पोखरा स्पोर्ट्स अवार्ड : अर्जुन र सुस्मिता बने वर्ष खेलाडी

पुरुषतर्फ अर्जुनसहित टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका थिए । महिलातर्फ सुस्मितासँगै आर्चरीकी अनुस्का शेरचन र भलिबलकी अरुणा शाही मनोनयन सूचीमा थिए । वर्ष उत्कृष्ट खेलाडीले खेलाडीले टेल्जी ब्रान्डको इलेक्ट्रिक स्कुटर र ट्रफी हात हात पारेका छन् ।

१७ वर्ष मुनिका खेलाडीबीच प्रतिष्पर्धा भएको उदीयमान खेलाडी विधामा ब्याडमिन्टनकी दिलासा रानाले अवार्ड प्राप्त गरिन् । उक्त विधामा दिलासासहित क्रिकेटकी ज्योत्सनिका मरासिनी र एथलेटिक्सका बादल कार्की मनोनयनमा थिए ।

भलिबलका रमेश केसीले वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड पाए । उक्त विधाको मनोनयनमा केसीसहित टेनिसका नीरज थापा र क्रिकेटका रिजन प्रजु थिए । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकले ३५ हजार रुपैयाँ प्राप्त गरे ।

मञ्चले यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई सम्मान गर्‍यो । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरे ।

वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त गर्‍यो । वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड नयाँ पत्रिका दैनिकका पोखरा संवाददाता रोहितराज पराजुलीले प्राप्त गरे । सहारा क्लब र पराजुलीले जनही ३५ हजार रुपैयाँ पाए ।

ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तर्राष्ट्रिय वरीयता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई मञ्चले विशेष (स्पेसल) अवार्डबाट सम्मान गरेको छ । अवार्ड प्राप्त खेलाडी तथा संस्थालाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगर प्रमुख धनराज आचार्य लगायतले अवार्ड हस्तान्तरण गरे ।

प्रकाशित : वैशाख २८, २०८१ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?