रोहितको प्रयास ब्यर्थ, वेस्ट इन्डिज ‘ए’ को रोमाञ्चक जित

विनोद पाण्डे

काठमाडौँ — कप्तान रोहित पौडेलले अर्को उत्कृष्ट इनिङ्स खेले पनि नेपाल आइतबार वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा १० रनले पराजित भएको छ । १६१ सय रनको लक्ष्य लिएर आएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ९ विकेट गुमाई १ सय ५० रनमात्र बनाउन सक्यो ।

रोहितको प्रयास ब्यर्थ, वेस्ट इन्डिज ‘ए’ को रोमाञ्चक जित

अन्तिम ओभरमा जितका लागि १६ रनको आवश्यक्ता भएको समयमा नेपालले ६ रनमात्र बनाउन सक्यो । अन्तिम ओभरको पहिलो बलमा १ रन लिन अस्वीकार गरेका रोहितले दोस्रो बलमा म्याथ्यु फोर्डेलाई चौका प्रहार गरे पनि दोस्रो बलमा २ रन लिन खोज्दा आकाश चन्द रनआउट भएका थिए ।

त्यसपछि आएका सागर ढकालले लेग बाईमा १ रन लिएर स्ट्राइक दिए पनि रोहितले अन्तिम दुई बलमा कुनै रन बनाएनन् । यो सँगैं वेस्ट इन्डिजको टोली शृंखला १–१ को बराबरीमा ल्यएको छ । रोहितको शतकमा नेपाले शनिबार पहिलो खेल ४ विकेटले जितेर शृंखलामा अग्रता लिएको थियो ।

रोहित ७१ रन बनाई अविजित रहे । उनले ४८ बल खेली ६ चौका र २ छक्का प्रहार गरे । नेपालको सुरुआत राम्रो थिएन् । कुशल भुर्तेलले पुनः निराश बनाए । उनी २ रनमात्र बनाई ओबेड म्याकोयको बलमा आउट भए । अनिल साहले पनि १ रनमात्र बनाउन सके । लोकेश बमले दुई छक्कासहित १७ रन बनाएपछि ‘क्रयाम्प’ भएका कारण रिटायर्ट हर्ट भएका थिए । तर पुनः आएर उनी सोहि स्कोरमा बोल्ड भए ।

कुशल मल्ल लगातार दोस्रो खेलमा रनआउट भए । शर्ट फाइन लेगमा रहेका फिल्डर केएसी कार्टीको हातमा रहेको बलमा १ रन लिन खोज्दा नन स्ट्राइकमा रहेका रोहितले फर्काइदिएपछि मल्ल रनआउट हुन पुगेका थिए ।

गुलशन झाले आफुले सामना गरेको पहिलो बलमै छक्का प्रहार गरे । उनले कुल ११ बल खेली ३ चौका र २ छक्कासहित २६ रन बनाए । आरिफ शेख १६ बलमा १२ र दीपेन्द्रसिंह ऐरी १ रनमात्र बनाई आउट भए । सोमपाल कामी ३ र आकाश चन्द ७ रनमा रनआउट भए ।

वेस्ट इन्डिज ‘ए’ बाट गुडाकेश मोटीले ४ ओभरमा २२ र म्याकोयले ४ ओभरमा २४ रन खर्चेर २–२ तथा कप्तान रोस्टन चेज र ओसाने थोम्सले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले १६०–७ को स्कोर बनाएको थियो । सागर ढकाल, भुर्तेल, मल्ल कसिलो बलिङ गरेपछि बलियो वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले खेल आफ्नो नियणत्रणमा राख्न सकेको थियो । अनुभवी एन्ड्रयु फ्लेचरले एउट एन्डबाट विकेट जोगाएर खेले पनि नियमीत विकेट गइरहँदा क्यारेबियन टोली ठुलो स्कोर बनाउन असफल रहयो ।

सोमपाल र आकाशले १–१ ओभर फालेपछि ल्याइएका देव्रेहाते स्पिनर सागरले पहिलो ओभरमै २ विकेट लिदैं नेपालको वर्चस्वको सुरुआत गरेका थिए । सागरले एलिक एथान्जेलाई ६ रनमा मल्लबाट क्याच आउट गराएका थिए । त्यसको दुई बलपछि उनले जोहनसन चार्ल्सलाई ११ रनमा बोल्ड गरे ।

त्यसपछि चम्किने पालो लेग स्पिनर भुर्तेलको थियो । लेग स्टम्पभन्दा निकै बाहिर पिच भएको बलमा भुर्तेलले वेस्ट इन्डिजका कप्तान चेजलाई अस्भाविक हिसाबमा बोल्ड गरे । फ्लेचरसँग तेस्रो विकेटमा ४८ रन जोडेका चेजले २२ बल खेली २ चौका र १ छक्का प्रहार गरि २३ रन बनाए । भुर्तेलले केइसी कार्टीलाई पनि १० रनमा आउट गरे ।

किमो पाल ८ रन बनाई सोमपालको बलमा बोल्ड भए । हेडन वाल्स ९ रनमा रनआउट भए । सातौं खेलाडीको रुपमा आउट भएका फ्लेचरले ३६ बल खेली ३ छक्कासहित ४३ रन बनाए । उनलाई दीपेन्द्रले आउट गरे ।

वेस्ट इन्डिजको टोलीले अन्तिम दुई ओभरमा ४१ रन जोडेको थियो । सोक्रममा दीपेन्द्रले फालेको अन्तिम ओभरमा टोलीले २२ रन जोडेको थियो । गुडाकेश मोटी ८ बलमा २ चौका र ४ छक्का प्रहार गरि ३३, म्याथ्यु फोर्ड ६ बलमा ११ रन बनाई अविजित रहे ।

सागरले ४ ओभरमा १९ र भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २–२ विकेट लिए । मल्लले ४ ओभरमा २३ रनमात्र खर्चेका थिए । दीपेन्द्रले ३ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए ।

प्रकाशित : वैशाख १६, २०८१ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?