२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

एक घर, एक भैंसी

अछाम — गाउँ सुनसान छ । कुनै घर खाली देखिन्छन्, कुनै घरमा वृद्धवृद्धा महिलाहरु मात्रै देखिन्छन् । अछामको ढकारी गाउँपालिका–८ पल्सातो गाउँमा भने प्रत्येक घरमा भैंसी पालिएका छन् । उमेर उत्तरार्धमा पुगेका बुढेशकालका बुवाआमालाई शितनको लागि नै भैंसी पाल्नेको संख्या नै धेरै छ ।

एक घर, एक भैंसी

ठूला सिङ भएका, ठूलो शरीर भएका र सज्जन खालका यी भैंसीहरु यो गाउँमा अझै पनि भेटिन्छन् । यही गाउँकी जसु भण्डारी ८२ वर्षकी भइन् । उमेरले बुढ्यौली लागे पनि उनको जोस जाँगर भने कम भएको छैन । सबेरै उठेर घरको काम गर्ने । दिउँसो घर नजिकै भैंसी गोठालो जाने उनको दिनचर्या नै हो ।

‘गोठमा भैंसी, खेतमा खेती, भकारीमा अन्न भए मन पनि शान्ति हुन्छ,' उनले हाँस्दै भनिन् ,‘भैंसी आँगनमा हुँदा त सैलो (सुहाएको गहना) पनि भयो । घरै उज्यालो पनि भयो ।’ भैंसीको रेखदेख गर्ने काममा उनका ८३ वर्षीय श्रीमान डम्बर भण्डारी खटिन्छन् ।

‘एक गाँस खाना निल्नलाई शितन (दुध ,दही ,घ्यु) खाने उहिलेदेखि नै बानी परिगयो । अहिले शितनबिना केही निल्नै सकिँदैन,’ डम्बर भन्छन् ,‘भैँसी भने त हाम्रो गहना पनि हो । आँगनमा एक भैंसी भएन भने निन्द्रा पनि लाग्दैन ।’

पहिले प्रत्येक घरमा पाँचभन्दा बढी नै भैंसी पाल्ने गरेको उनले बताए । ‘पहिले घरभरि मान्छे हुन्थे । गोठभरि गाइभैंसी हुन्थे । जग्गा बाँझो कतै देखिदैन थियो,’ उनले भने ,‘अहिले आठ भैंसी जति त मेरै घरमा पालेका थियौं । माल, बण्डालमा लिन्थ्यौं ।’ आफ्नै जिद्दीले घरमा अहिलेसम्म भैंसी पालिरहेको भण्डारी दम्पत्ती बताउँछन् ।

ढकारी गाउँपालिका –८ स्याउलेखानकी ४५ वर्षीया भाना विकले पनि ससुरालाई शितन चाहिने भएर भैँसी पालेको बताइन् । ‘बुढापाकाले गोठमा भैंसी नहुँदा कचकच गरिरहन्छन् । उहिलेदेखि बानी पनि परेको छ,’ उनले भनिन् ।

ढकारी गाउँपालिका– ८ स्याउलेखानकै ८४ वर्षीया धनसरा विकको आँगनमा पनि भण्डारी दम्पत्तीकै जस्तै दुहुनो भैंसी छ । अहिले गहुँ काटेर खेतबारी खाली भएको सिजनमा घर नजिकैको जिउलो खेतमा गाउँका अन्य मान्छेसँगै उनी पनि भैंसी गोठालो जान्छिन् । उमेरले बुढ्यौली लागेपनि उनी पनि आफूले सकेको काम गरिरहेकै छिन् ।

‘छोरा बुहारी त किन भैंसी पाल्नुपर्‍यो भन्छन् । स्वाश रहँदासम्म गोठमा भैंसी हुनुपर्‍यो भन्ने मेरै कारणले भैंसी पालिएको छ,’ उनले भनिन् ,‘गाउँमा भएका सबैं भैंसी शहरमा लैजान्छन् । कोही काम गर्न चाहदैनन् । हाम्रो पुस्ता सकिएपछि गाउँमा भैंसी पनि देख्न पाइदैन होला ।’

भैंसीपालनका लागि प्रशस्त चरन, आहाल लगायतका कुराहरुको कमी हुँदा भैंसी पालन संकटमा परेको उनले बताए । ‘यो गाउँमा प्रत्येक घरमा भैंसी अनिवार्य नै छन् । चलन जस्तो नै छ । तर गाउँगाउँबाट भएका भैंसीहरु तराईतिर बिक्री हुन्छन् । अहिले अरु गाउँमा भैंसी देखिदैन,' उनले भनिन् ।

प्रकाशित : वैशाख २८, २०८१ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?