डोल्पामा यार्सा संकलन जेठ १० देखि

मुगु — हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि बहुमुल्य जडिबुटी यार्सागुम्बाको संकलन सुरु गर्ने निर्णय भएको छ । डिभिजन बन कार्यालयले ११ वैशाखमा गरेको सर्वपक्षीय बैठकले जेठ १० देखि यार्सागुम्बा संकलन गर्ने  निर्णय गरेको हो । 

डोल्पामा यार्सा संकलन जेठ १० देखि

डिभिजन वन कार्यालयका अधिकृत मुनबहादुर रावतले जेठ १० गतेबाट यार्सागुम्बा संकलन गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार जिल्ला बाहिरबाट आउनेलाई प्रति व्यक्ति २ हजार, जिल्ला भित्रका नागरिकलाई प्रति व्यक्ति १ हजार र सामुदायिक वन क्षेत्र भित्रका स्थानीयलाई प्रति व्यक्ति ५ सयका दरले प्रवेश शुल्क निर्धारण गरिएको छ । यार्सागुम्बा चोरी नाकाहरु कडाई गर्ने र चोरी गर्ने व्यक्ति फेला पारे कारबाही समेत गर्ने निर्णय गरिएको छ ।

गरिवको मुख्य आयश्रोत मानिने यार्सा डोल्पाको डोल्पूबोध गाउँपालिका, छार्काताङसुङ गाउँपालिका, काइके गाउँपालिका, जगदुल्ला गाउँपालिका लगायत क्षेत्रको ३२ स्थानमा प्रयाप्त मात्रमा पाइने गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

त्रिपुरा सुन्दरी र ठूलीभेरी नरपालिकाको केही स्थानमा पनि कम मात्र यार्सा पाइने गरेको छ । पैसा कमाउने लोभले डोल्पाको पाटन क्षेत्रमा यार्सा टिप्न विभिन्न जिल्लाबाट हजारौँ स्थानीय पाटन प्रवेश गर्ने गरेका छन् । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा संकलनको लागि पालिकाले वैशाख १७ गते सर्वपक्षीय बैठकको आयोजना गरेर दिन तोक्ने जनाएको छ ।


भोलि सर्वपक्षीय बैठक बसालेर पाटनको यार्सा संकलन गर्न जाने दिन तोक्ने मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । 'डोल्पामा जेठ १० गते देखि यार्सा टिप्न सुरु गर्ने भन्ने निर्णय सुनियो,' उनले भने, 'मुगुमा पनि त्यही जेठ १२ वा १३ गतेको मिति तय गरेर यार्सा संकलन गर्ने निर्णय गर्नु पर्ला ।'

अध्यक्ष लामाका अनुसार यार्सा संकलन गर्ने दिन नतोक्दै जिल्ला बाहिरबाट स्थानीय आउन थालिसके । यो बर्ष पाटनमा यार्सा टिप्न मानिसको ताती लाग्ला पो जस्तो छ । मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्र सानोकोइकी, ठूलो कोइकी, रिमार, टाँके लगायत ७ स्थानमा बहुमुल्य यार्सा पाइने र उक्त यार्सा टिप्न जिल्ला भित्र र बाहिर बाट स्थानीयको लर्को लाग्ने गरेको छ ।

गत बर्ष मुगुको पाटन क्षेत्रमा अत्याधिक मात्रमा यार्सा पाइएको र यो बर्ष पनि धेरै पाइने आसाले गर्दा स्थानीय यार्सा टिप्न आत्तुर देखिएका छन् ।d

प्रकाशित : वैशाख १६, २०८१ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?