विद्यार्थीलाई ‘लु’ बाट जोगाउन रामग्रामका शिक्षकलाई प्रशिक्षण
परासी — बढ्दो गर्मी र तातो हावाको कारण जनजीवन प्रभावित हुन थालेपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका शिक्षकलाई ‘लु’ बाट जोगिने उपाय र बालवालिकालाई सुरक्षित राख्नेबारे सचेतना मुलक प्रशिक्षण प्रदान गरिएको छ । तापक्रम बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै रामग्राम नगरपालिका र रामग्राम जेसीजले शिक्षकहरुलाई प्रशिक्षण प्रदान गरेको हो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाद्वारा सञ्चालित बृहत् सामुदायिक स्वास्थ्य परियोजनाको सहयोगमा नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयमा स्वास्थ्य शिक्षा अध्यापन गराउने शिक्षकलाई तालिम प्रदान गरिएको हो ।
सहभागी शिक्षकहरुले अब आफ्नो विद्यालयका विद्यार्थीहरुलाई ''लु'' बाट जोगिने उपाय तथा पूर्व तयारीका विषयमा सिकाउने रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलले बताए । कार्यक्रममा रामग्राम नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजन र शुक्रौली स्वास्थ्य चौकीका ईन्चार्ज बलराम सापकोटाले गर्मी मौसममा बालवालिका र वृद्धवृद्धालाई यसको असरबाट जोगाउने उपायका विषयमा सहजीकरण गरेका थिए ।
रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले 'लु' बाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न समयमै तयारी र सकेसम्म 'लु' हुनै नदिन आफ्नो विद्यालयका विद्यार्थीहरुलाई सचेत गराउन र विद्यालय नै बन्द गराउनुपर्ने अवस्थाको अन्त्य हुने बताए ।
'लु' बाट बच्न गर्मीको समयमा खानपानमा ध्यान दिने, प्रशस्त पानी पिउने, घाममा सकेसम्म नहिाड्ने र हिाड्नै परे सावधानी अपनाउने लगायतका विधि प्रयोग गर्न विज्ञले सुझाव दिएका छन् ।
पश्चिम नवलपरासीमा अत्याधिक गर्मी र तातो हावाको कारण जनजीवन प्रभावित बनेको छ । ४१ डिग्री सेल्सियससम्म तापक्रम बढ्दा दिउँसोको समयमा घरबाट बाहिर निस्कनसमेत असहज छ ।
प्रकाशित : वैशाख १६, २०८१ १९:०४