२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०२

अर्थतन्त्र चलायमान हुने गरी बजेट ल्याउन सुझाव

सरकारले भनेअनुसार अर्थतन्त्रमा सुधार नदेखिएकाले आगामी बजेटमार्फत शिथिलता हटाउन विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड 

काठमाडौँ — लामो समयदेखि शिथिल रहेको अर्थतन्त्र चलायमान हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरोकारवालाले अर्थमन्त्री वर्षमान पुनलाई सुझाएका छन् । सरकारले अनेक प्रयास गरिरहेको दाबी गरे पनि अर्थतन्त्रमा सुधार नदेखिएकाले आगामी बजेटमार्फत शिथिलता हटाउन विशेष कार्यक्रम ल्याउनुपर्नेमा उनीहरूको जोड छ ।

अर्थतन्त्र चलायमान हुने गरी बजेट ल्याउन सुझाव

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार आयोजना गरेको ‘प्रि–बजेट राउन्ड टेबल’ कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रमुख, अर्थविद्, प्राध्यापक तथा सरोकारवालाले राज्य संयन्त्रलाई सच्याउने सही समय अहिले भएकाले हिम्मत गर्न सुझाए ।

राजनीतिक क्रान्ति गरेर आएका अर्थमन्त्री र उनको टोलीसमक्ष अब राज्य संयन्त्रमा रहेका समस्या हटाउन ठूलो सुधारको हिस्मत चाहिएको अर्थविद् अच्युत वाग्लेले बताए । विगतमा जति पनि विकासका काम भएका थिए, ती ‘बोल्ड डिसिजन’ कै कारण सम्भव भएको र यो सुधारका लागि निर्णायक समय भएको उनको भनाइ छ । ‘आर्थिक क्रान्तिका लागि ठीक समय आएको छ, तपाईं त्यो ठाउँमा हुनुहुन्छ अब हिम्मत गर्नुहोस्,’ उनले भने, ‘परम्परागत रूपमा अर्थतन्त्रको टेवा भनिएका क्षेत्र नै अहिले समस्यामा छन् । सुधारका लागि हिम्मत चाहिएको छ ।’

बजेट बनाउँदा स्थानीय र प्रदेश सरकारलाई बिर्सन नहुनेमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभाग प्रमुख रेशम थापाले जोड दिए । निजी क्षेत्रले सरकारको धेरै मुख ताक्ने प्रवृत्तिले समेत वातावरण बिग्रिरहेको र दुवै पक्षले आफ्नो योगदान बिर्सन नहुने उनको भनाइ छ । ‘बजेटको आकार ठूलो बनाउन हुँदैन । सेवा व्यापारमा आएको नयाँ आयामबाट फाइदा लिनुपर्छ,’ उनले भने । संरचनात्मक सुधार नगरेसम्म हरेक वर्ष आउने बजेटले आमूल परिवर्तन ल्याउन नसक्ने अर्थविद् विश्वास गौचनले बताए । आगामी आर्थिक वर्ष १६औं आवधिक योजनाको पहिलो बजेट रहेकाले दीर्घकालीन योजना र बजेटका बीचमा तालमेल मिलाउन उनले सुझाए । विगतमा विद्युतीय सवारी साधनबारे सरकारले लिएका नीतिबारे समीक्षा गर्नुपर्नेसमेत उनको भनाइ छ ।

नयाँ बजेटले निजी क्षेत्रका अपेक्षा पूरा गर्ने आशा बढेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जनाए । बजेटमार्फत सुस्ताएको अर्थतन्त्रलाई माथि उकास्नुपर्ने र गुमेको आत्मविश्वास फिर्ता ल्याउनेबारे सरकारले ध्यान दिनुपर्नेमा उनको जोड छ । अहिले बजारमा माग र आपूर्ति कम हुँदा हरेक क्षेत्र सुस्ताएको र कम्तीमा एक सय जनालाई रोजगारी दिने उद्योगलाई विशेष सुविधा ल्याउनुपर्ने उनको भनाइ छ । आफ्नो काम देखाउन सरकारी एजेन्सीले निजी क्षेत्रलाई दुःख दिइरहेको उनको गुनासो छ ।

नेपालले आगामी आर्थिक वर्षमा कोभिड अगाडिका नीति फर्काउनुपर्ने आवश्यकता रहेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए । निजी क्षेत्रमा जाने स्रोत दुरुपयोग भयो भन्ने भाष्य चिर्नसमेत कोभिड अगाडिका नीति अंगीकार गर्नुपर्ने उनको भनाइ छ । आन्तरिक उत्पादनलाई प्राथमिकता दिन उनले सुझाए । आर्थिक शिथिलता अन्त्य गर्ने खालको बजेट आवश्यक रहेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालको भनाइ छ । निजी क्षेत्रको मनोबल माथि नउठेसम्म सरकारसमेत सफल हुन नसक्ने उनले जनाए ।

बैंकमा लगानीयोग्य रकम थुप्रिने तर अर्थतन्त्र चलायमान नहुने अवस्थाले लगानीकर्तामा आत्मबल नभएको संकेत गर्ने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । व्यवसाय गर्ने व्यक्तिलाई प्रोत्साहन दिने खालको नीति आवश्यक रहेको उनको भनाइ छ । बजेट निर्माणका क्रममा धेरै क्षेत्रसँग अन्तरक्रिया गरिएको र त्यस क्रममा अर्थतन्त्र शिथिल छ भन्ने सुनिएको अर्थमन्त्री पुनले उल्लेख गरे । तर, गत वर्षभन्दा परिस्थिति सुधारोन्मुख रहेकाले आशावादी रहेर बजेट बनाइरहेको उनले जनाए ।

प्रकाशित : वैशाख २८, २०८१ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?