२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

किओचलाई गुरुङको ४१ करोड सहयोग

काठमाडौँ — भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) का लागि ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् । कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्दै छन् ।

किओचलाई गुरुङको ४१ करोड सहयोग

निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिबद्धता जनाउँदै उक्त रकम दिने घोषणा गरेका हुन् । गुरुङले यसअघि त्रिवि शिक्षण अस्पतालमा गरेको सहयोगको स्मरण गर्दै भने, ‘घरमा पनि सबैलाई यो कुरा नभनी यहाँ आएको थिएँ, पार्टनरलाई २५ करोडसम्म सहयोग गर्न सक्छु भनेको थिएँ, तर यहाँ आइसकेपछि मैले ४१ करोड सहयोग गर्ने घोषणा गरें ।’

गुरुङको सहयोग घोषणाले देशका लागि केही गर्न खोज्ने व्यक्तिको कमी नभएको डा. कोइरालाले उल्लेख गरे । कोइरालाले काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि सारेका छन् । कोशी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल सम्पन्न भइसकेको छ । अब काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुने उनले बताए । भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङले यसअघि त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका छन् । ०६८ सालमा बुबा वृषबहादुर र आमा धनमाया गुरुङको नाममा इमर्जेन्सी भवन बनाइदिएका हुन् । उक्त भवन ११ करोड रुपैयाँमा निर्माण गरिएको थियो । भूकम्पपछि सोही स्थानमा उनले अर्को भवन १५ करोड लागतमा निर्माण गरिदिएका हुन् ।


प्रकाशित : वैशाख २८, २०८१ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?