सुरु भयो तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन

काठमाडौँ — मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्धेश्यले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गरेका हुन् । 

सुरु भयो तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन

सम्मेलनमा स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका गरी १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी छ । दुईदिने सम्मेलनमा नेपालसहित ५५ देशका १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने नेपाल लगानी बोर्डले जनाएको छ । केही दिनअघिदेखि नै मुलुकमा स्वदेशी तथा विदेशी लगानीकर्ताको आगमन सुरु भइसकेको बोर्डले बताएको छ ।

दुई दिन चल्ने सम्मेलनमा ६ वटाभन्दा बढी सत्र सञ्चालन हुनेछन् । ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षालगायत विविध क्षेत्रका परियोजना रहेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जनाए । संघ, प्रदेश र स्थानीय तहका १ सय १९ र निजी क्षेत्रका ३१ परियोजना छन् ।

लगानी बोर्डको ५८औं बैठकले मंगलबार तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) लगायतका सरकारी तथा निजी गरी १ सय ४८ परियोजनाको सूची स्वीकृत गरेको छ । त्यसपछि काठमाडौं तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल विकास परियोजना र डाटा सेन्टर प्रोजेक्ट थपिएको बोर्डले जनाएको छ ।

२४ सयभन्दा बढीलाई निम्ता पठाइएकामा १६ सयभन्दा बढी सहभागी आउने सुनिश्चित भइसकेको लगानी बोर्डका प्रवक्ता उपाध्यायको भनाइ छ । सबैभन्दा बढी ३ सय ८५ जना स्वदेशी लगानीकर्ताको सहभागिता निश्चित भइसकेको छ ।

चीनबाट २ सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, बेलायतका १४, बंगलादेशका १३, संयुक्त अरब इमिरेट्स (यूएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदै छन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ/नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ ।

प्रकाशित : वैशाख १६, २०८१ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?